






विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला यतिबेला अस्ट्रेलिया भ्रमणमा छन् ।
उनले गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए) को कार्यक्रममा भाषण गरेका छन् । उनले विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर बस्दै आएकाहरुको सहयोग चाहिएको बताए ।
उनले भने, ‘समृद्ध विराटनगर हाम्रो साझा सपना हो । यसका लागि देशभित्र मात्र होइन, बाहिर रहेका प्रत्येक नेपालीको योगदान अपरिहार्य छ । प्रवासमा बसेकाहरूको अनुभव, सीप र लगानी नै विराटनगरलाई नयाँ दिशामा अघि बढाउने शक्ति हो ।’
उनले विराटनगरलाई कोशी प्रदेशको मात्र नभई समग्र देशकै आर्थिक केन्द्रको रूपमा उभ्याउन आफूले जोडतोडका साथ काम गरिरहेको दाबी गरे ।
महानगरले पनि विकास कार्यक्रम अघि सारेको बताए । स्वास्थ्य, शिक्षा, उद्योग–व्यापार, सफाइ र पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको सुनाए । सहकार्य र साझेदारी आवश्यक रहेको बताए ।
“अब हाम्रो शहरलाई आधुनिक पूर्वाधारयुक्त, लगानीमैत्री र जीवनस्तर उच्च बनाउन तपाइँहरूको साथ अनिवार्य छ । विराटनगरलाई हामीले कोशी प्रदेश मात्र होइन, दक्षिण एसियाको एक अग्रणी सहरको रूपमा चिनाउन सक्नेछौँ,’ कोइरालाले सुनाए ।
कार्यक्रममा उपस्थित गैरआवासीय नेपालीहरूले विराटनगरलाई स्मार्ट सहर बनाउन आवश्यक सहयोग गर्ने बताएका थिए । मेयर कोइराला मेयर भएको आधाभन्दा धेरै समय बितिसकेको छ ।