






विराटनगर । रोटरी फाउण्डेशनको ग्लोबल ग्रान्ट कार्यक्रमअन्तर्गत निर्माण गरिएका नवनिर्मित विद्यालय भवनहरू विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई हस्तान्तरण गरिएको छ।
विराटनगर–५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयमा आयोजित विशेष कार्यक्रममा ती भवनहरू विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिइएको हो। रोटरी क्लब विराटनगरअन्तर्गतको युवा संस्था रोट्रयाक विराटनगरको पहलमा करिब ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो।
उक्त परियोजनाअन्तर्गत १२ कोठा समेटिएका चारवटा पक्की भवन र एक अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ। शौचालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। भवनहरू बालमैत्री विशेषतायुक्त छन्, जहाँ प्रवेशद्वारदेखि हरेक कक्षासम्म पुग्न टायल बिछ्याइएको छ। साथै, छुट्टै खेलमैदान, पार्किङस्थल लगायतका भौतिक संरचना समेत विकास गरिएको छ।
यसअघि जीर्ण अवस्थामा रहेको विद्यालयका संरचना अहिले आधुनिक रूप दिइएको हो।
कार्यक्रममा मेयर कोइरालासँगै रोटरी इन्टरनेशनलका प्रतिनिधि वासुदेव गोल्यान, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, रोटरीका पदाधिकारी विनोद अग्रवाल, कमल अग्रवाल, अमित अग्रवाल, समाजसेवी उद्धव कोइराला, रोट्रयाक अध्यक्ष प्रेम पारख, पूर्वअध्यक्ष एरोस पौडेल र सजल सुवेदीलगायतको सहभागिता थियो। उनीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक राजेन्द्रप्रसाद थापालाई संरचना हस्तान्तरण गरे।
उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले विद्यालयको भौतिक संरचना सँगै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए। उनले सबै सामुदायिक विद्यालयमा पंखा, पानी र शौचालयको सुविधा पुर्याइसकेको र अन्य आवश्यक सामग्री पनि महानगरले उपलब्ध गराउने प्रतिबद्धता जनाए।