Premier Cables
Premier Steel

विराटनगर

विराटगरमा राष्ट्रसंघ नमुना महासभा सम्पन्न

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल तथा कलेजमा आयोजित संयुक्त राष्ट्रसंघको नमुना महासभा शुक्रबार सम्पन्न भएको छ।

तीन दिनसम्म चलेको यस अभ्यासमा सहभागी विद्यार्थीहरूले विश्वका साझा मुद्दामा सहकार्य गर्ने सहमति गर्दै समापन गरेका छन्।

बिज्ञापन

गत बुधबारदेखि सुरु भएको ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघ महासभा’ अन्तर्गत पहिलो दिन महासभाका नियमहरूबारे अभिमुखीकरण र प्रशिक्षण, दोस्रो दिन गहन बहस तथा कार्यपत्र–स्थिति पत्रको मस्यौदा, र अन्तिम दिन संयुक्त राष्ट्र शैलीका प्रस्तावहरू तयार पार्ने कार्य सम्पन्न गरियो। समापनको दिन अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमार्फत विभिन्न देशका पत्रकारको भूमिकामा रहेका विद्यार्थीहरूले प्रतिनिधिहरूसँग प्रश्नोत्तर गरेका थिए।

ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका २०० विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको रूपमा भाग लिए। उनीहरूलाई संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनसहित ६ वटा सांकेतिक समितिमा विभाजन गरी अभ्यास गराइएको थियो।

विद्यार्थीहरूले निशस्त्रीकरण, मानवअधिकार, कोभिड–१९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यासजस्ता विषयमा अध्ययन र बहस गरेका थिए। छोटो समयमा आफ्नो प्रतिनिधित्व मुलुकका मुद्दा अध्ययन गर्दै समाधानका लागि तर्क प्रस्तुत गरेर विद्यार्थीहरूले उत्कृष्ट कौशलता देखाए।

विद्यार्थी अनिरुद्र सेढाईंले कार्यक्रमले अन्तर्राष्ट्रिय नीति तथा कूटनीति बुझ्न सहयोग गरेको बताए भने इशल भट्टराईले विश्वलाई नजिकबाट बुझ्ने अवसर दिएको प्रतिक्रिया दिए। समापनमा उत्कृष्ट प्रस्तुति गर्नेहरुलाई सम्मानपत्र र प्रमाणपत्र प्रदान गरियो।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले यस्तो अभ्यासले विद्यार्थीको क्षमता र विश्वबोध दुवै विकास गर्ने विश्वास व्यक्त गर्दै निकट भविष्यमा नेपालसहित विभिन्न देशका प्रतिनिधि सभाको पनि अभ्यास गराइने बताए। ग्लोबल हेल्प फाउन्डेसनका निर्देशक प्रकाश खड्काले यो कार्यक्रम कोशी प्रदेशकै भव्य रूपमा सम्पन्न भएको उल्लेख गर्दै एभरेष्ट स्कुलले दिएको प्लेटफर्मबाट विद्यार्थीहरूले महत्वपूर्ण ज्ञान प्राप्त गरेको बताए।

कार्यक्रममा एभरेष्टका भाइस प्रिन्सिपल टिएन भण्डारी, कुन्दन पुरी, ग्लोबल हेल्प फाउन्डेसनका महासचिव कुँवर दीपंकरलगायतको उपस्थिति थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka