Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

भगवान राम फर्किएनन्, तर रामधुनी कंक्रिटले छोपियो

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | साँझ ४:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रामधुनी । त्रेतायुगको धार्मिक धरोहर, जहाँ ऋषिहरूले भगवान रामको सान्निध्यमा धुनी जगाएका थिए, अहिले कंक्रिट संरचनाको ओझेलमा पर्दैछ। राम फर्किएनन्, तर उनले टेकेको पवित्र भूमिमा अहिले फलाम, सिमेन्ट र टायल्सको भार थोपारिँदैछ।

चारकोसे जंगलभित्र अवस्थित रामधुनी – नाम आफैँमा राम र धुनीको कथा बोकेको – आज धार्मिक पर्यटनको केन्द्र बन्ने नाममा मौलिकता गुमाउँदैछ। जहाँ कहिल्यै ननिभेको साजको धुनी बालिन्थ्यो, आज त्यही धुनी छोपिने गरी आधुनिक संरचना उभ्याइँदैछ।

बिज्ञापन

धार्मिक मान्यताअनुसार, रामले जगाएको भनिएको धुनी आज पनि शान्त तर बलिरहेको छ। यही धुनीको विभूति ललाटमा लगाउँदै भक्तजन श्रद्धासहित पूजा गर्छन्। तर, पछिल्लो केही वर्षमा मन्दिर परिसरभित्र जथाभावी बनाइएका नयाँ कंक्रिट संरचनाले यसको आत्मा नै हराइरहेको अनुभूति स्थानीयवासी र भक्तजनलाई हुन थालेको छ।

मूल मन्दिरभन्दा केही पर अहिले बन्दै गरेको विवाह मण्डप अझै अधुरो छ। तर, प्रश्न उब्जिएको छ – जहाँ रामको विवाह भएको थिएन, त्यहाँ विवाह मण्डपको के तुक? महन्त काशीराम उदासी भन्छन्, “रामधुनीको महत्व धुनीमा छ, विवाह मण्डप होइन। हामी धर्म रक्षा गरौं कि भौतिक प्रतिस्पर्धा?”

धार्मिक वातावरण र मौलिक बनोटले सिंगारिएको रामधुनी अब सिमेन्टको सुगन्धले ढाकिँदै छ। फलामका बार, टायल्स र मार्बल प्रयोग गरेर बनाइएका संरचनाले प्राकृतिक र धार्मिक सौन्दर्य कुरुप बनाएको स्थानीयको गुनासो छ। “पहिले काठका टहराहरू राम्रा देखिन्थे,” डुम्राराहाका करिलाल चौधरी भन्छन्, “अहिलेका नयाँ संरचनाले रामधुनीलाई घच्घच्याउँछ।”

रामधुनी न केवल हिन्दू आस्थाको केन्द्र हो, यो ऐतिहासिक र सांस्कृतिक चिनारी हो। यहाँको धुनी त्रेतायुगदेखि बलिरहेको धार्मिक प्रतीक हो। तर अब त्यो प्रतीकलाई ‘परियोजना’ र ‘बजेट’का नाममा ढाक्ने काम भइरहेको छ।

रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी भन्छन्, “विवाह मण्डपको डीपीआर अघिल्लो कार्यकालमै बनिसकेको थियो। ३५ करोड लागत लाग्नेछ।” तर, हरेक वर्ष १–१ करोडको अनुदान आउँदा संरचना पूरा हुन अझै दशकौं लाग्ने देखिन्छ। यो अवस्थामा धार्मिक स्थलभन्दा अधुरो निर्माण स्थल बनेको दृश्य छ।

रामधुनी प्रदेश सरकारको धार्मिक सर्किट योजनामा परेको छ। पर्यटक आउन्, धार्मिक पर्यटन फस्टाओस् भन्ने चाहना गलत होइन। तर त्यो विकास मौलिकताको बलिमा होइन, संरक्षणको आधारमा हुनुपर्छ भन्ने सन्देश स्थानीयवासी दिन खोजिरहेका छन्।

कदाचित राम फर्किएनन्, तर उनको स्मृतिको धुनी अझै बलिरहेको छ – अहिलेसम्म। प्रश्न यत्ति हो: के हामी त्यो धुनीलाई जीवित राख्न सक्छौं, कि कंक्रिटको भारीले त्यसलाई कहिल्यैको लागि निभाइदिन्छौं?

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka