Premier Cables
Premier Steel

समाचार

विराटनगर विमानस्थलभित्र यात्रु ठग्ने ४ पसलमाथि प्रशासनको कारवाही, १२ लाख जरिवाना गरियो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | राती ९:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर विमानस्थल भित्र सञ्चालित पसलहरूले यात्रुहरूमाथि चरम ब्रह्मलुट मच्चाएको फेला परेको छ।

सामानको अंकित मूल्य (एमआरपी) भन्दा दोब्बर-तेब्बर बढी रकम असुल गरी यात्रु ठग्ने चारवटा होटल तथा क्याफेलाई जिल्ला प्रशासन कार्यालय मोरङले कुल १२ लाख रुपैयाँ जरिवाना गरेको छ।

बिज्ञापन

विमानस्थल भित्रका पसलहरूले मनपरी मूल्य लिएर उपभोक्ता लुटेको व्यापक जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलहरूले गरेको ठगीको यस्तो रूप फेला परेको हो ।

कारबाहीमा परेका पसल-क्याफे

ममता होटल (बोर्डिङ कक्ष): रु. १०० पर्ने डेरी मिल्क चकलेटलाई रु. २०० मा बेचेको।

ग्यालेक्सी क्याफे एण्ड होटल प्रालि (क्यान्टिन): रु.५० पर्ने कोकको बिल नै काटेर रु. १६० मा बेचेको।

गरिमा क्याफे: रु. ५० पर्ने कोकलाई रु.८० मा बेचेको।

अनुकुल होटल एण्ड भान्छा घर: रु.८ पर्ने सामान्य चकलेटलाई रु. १७ रुपैयाँ ६९ पैसा सम्म असुल गरेको।

उपभोक्ता संरक्षण ऐन बमोजिम कारबाही

अंकित मूल्य भन्दा बढी चर्को मूल्य लिई उपभोक्ता ठगी गर्ने यी चारै वटा पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) को कसुरमा सोही ऐनको दफा ३९ (१) को खण्ड (ख) बमोजिम जनही रु. ३ लाखका दरले जरिवाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सारोज कोइरालाले जानकारी दिए।

उक्त आकस्मिक अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख हितेस बस्नेत, जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर बेनु कुमार कार्की र उपभोक्ता हित संरक्षण मञ्च कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदी लगायतको सहभागिता रहेको थियो।

प्रशासनले आगामी दिनमा पनि उपभोक्ता ठग्ने र कालोबजारी गर्ने यस्ता पसलहरूमाथि कडा निगरानी राख्ने र कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka