विराटनगर । साताको मध्य कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित हरियो बन्द भएको छ। लगातार चार दिनसम्म घट्दो क्रममा रहेको बजारमा बुधबार भने सकारात्मक संकेत देखिएको हो।
बुधबार नेप्से परिसूचक २.५७ अंकले बढेर २ हजार ७३६.१७ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.१२ अंकले उकालो लाग्दा सेन्सेटिभ इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेका छन्।
परिसूचकमा सुधार आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा घटेको छ। मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ३५६ कम्पनीका ९२ लाख ८३ हजार कित्ता शेयर ४९ हजार २४८ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ।
कारोबारका क्रममा कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब ११ प्रतिशतले बढ्दा बुंगल हाइड्रोको मूल्य पनि झण्डै ७ प्रतिशतले उकालो लागेको छ। विपरीत रूपमा, १०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै ८.७१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार रकम पनि २० करोड रुपैयाँ नाघेको छ भने सिटी होटलको करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उपसमूहगत प्रदर्शनमा १३ मध्ये ७ उपसमूह हरियो रहे भने ६ उपसमूहमा गिरावट देखिएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहमा वृद्धि भएको छ। घटेका उपसमूहको गिरावट भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।
