विराटनगर । मोरङ प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइँदै गरेको लत्ता कपडा र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार राति करिब ९ः२० बजे विराटनगर महानगरपालिका–१५ स्थित बैंक रोड क्षेत्रमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले चेकजाँचका क्रममा प्र–२–०१–००१ स १०८३ नम्बरको टेम्पोमा अवैध रूपमा ल्याइँदै गरिएको कपडा बरामद गरेको हो।
प्रहरीका अनुसार टेम्पो चालक विराटनगर महानगरपालिका–१२ निवासी ३२ वर्षीय रबिन मण्डलले भन्सार छली गरी कुर्ता–सुरुवाल १३५ सेट र धोतीको थान कपडा ५७६ मिटर नेपाल भित्र्याउँदै गरेका थिए।
बरामद कपडाको अनुमानित मूल्य २ लाख ५० हजार २०० रुपैयाँ रहेको छ भने टेम्पोको मूल्य ३ लाख रुपैयाँ आँकलन गरिएको छ। बरामद सामान र सवारीसाधनसहित कुल मूल्य ५ लाख ५० हजार २०० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले चालक, टेम्पो र बरामद कपडा नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाएको जनाएको छ।
