काठमाडौं । नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच प्रत्यक्ष डिजिटल रकम स्थानान्तरण (पियर–टु–पियर) सेवा सञ्चालनमा ल्याउने घोषणा गरिएको छ। यस व्यवस्थासँगै दुवै देशका नागरिकले आपसमा डिजिटल माध्यमबाट सिधै रकम पठाउन र प्राप्त गर्न सक्ने भएका छन्।
शनिबार नयाँदिल्लीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भएको द्विपक्षीय भेटवार्ताका क्रममा उक्त घोषणा गरिएको हो।
नेपाल र भारतबीच डिजिटल भुक्तानी प्रणालीको विस्तार भइरहेका बेला नयाँ व्यवस्था लागू गरिएको हो। यसअघि भारतीय नागरिकले भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) मार्फत नेपालका व्यवसायिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्ने व्यवस्था थियो। तर, भारत भ्रमणमा जाने नेपाली नागरिकले त्यस्तो सुविधा प्रयोग गर्न पाएका थिएनन्।
नयाँ व्यवस्थाले भने दुवै देशका नागरिकबीच सीमापार प्रत्यक्ष डिजिटल रकम स्थानान्तरणको बाटो खुलेको छ।
यो सेवा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच सन् २०२३ जुनमा भएको समझदारीअनुसार सञ्चालनमा ल्याइएको हो।
द्विपक्षीय भेटवार्ताका क्रममा दुई मन्त्रीले नेपाल–भारतबीच सञ्चालनमा रहेका विभिन्न विकास आयोजना र सहकार्यका कार्यक्रमहरूको प्रगतिसमेत समीक्षा गरेका थिए। साथै, ती परियोजनाको कार्यान्वयनलाई थप तीव्र बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।
