विराटनगर । सनातन धर्मको संरक्षण, संवर्द्धन तथा धार्मिक जागरणको उद्देश्यसहित विराटनगरमा पहिलो पटक ‘भजन जामिङ’ कार्यक्रम आयोजना हुने भएको छ।
ह्यासट्याग इभेन्ट र विश्व हिन्दू परिषद् नेपालको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमबाट बालसंस्कार केन्द्र सञ्चालनका लागि सहयोग जुटाइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार हिन्दू युवाहरूमा बढ्दो क्लब संस्कृति र नशाजन्य प्रवृत्तिलाई निरुत्साहित गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। मनोरञ्जनसँगै सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई जोड दिँदै भजनमार्फत धार्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ।
कार्यक्रम आगामी जेठ ३० गते शनिबार बेलुका ६ बजे विराटनगरस्थित जैन भवनमा आयोजना हुनेछ। कार्यक्रममा भारतका चर्चित भजन गायक गजेन्द्र प्रताप सिंहले आफ्नो प्रस्तुति दिने छन् । यसमा टिकटको मूल्य रु. ३०० देखि शुरु हुने बताइएको छ ।
आयोजकले कार्यक्रमको सफलताका लागि विभिन्न सञ्चारमाध्यम, सामाजिक संघसंस्था तथा सरोकारवालासँग प्रचारप्रसार र सहयोगका लागि आग्रह गरेको छ। कार्यक्रमले धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा योगदान पुर्याउने विश्वास आयोजकको छ।
ह्यासट्याग इभेन्टका संचालक कौशल अग्रवालका अनुसार विराटनगरमा पहिलो पटक आयोजना हुने कार्यक्रममा नेपाल र भारतका भक्तजनको सहभागिता हुने जानकारी दिए । सल्लाहकार नवल प्रसाद उपाध्यायले धार्मिक गतिविधि झल्काउने यस्ता कार्यक्रमले सामाजिक सेवा र धार्मिक पर्यटना मद्धत पुग्ने बताए । यसबारे आयोजकले मंगलबार(आज) विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

