Premier Cables
Premier Steel

कोशी प्रदेश

विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शनको तयारी, जेठ ३१ मा बृहत् एकता भेला

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २७, २०८३  | अपराह्न ३:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा बृहत् एकता भेला आयोजना गर्ने तयारी गरेको छ। जेठ ३१ गतेका लागि विराटनगरस्थित होटल मनास्लु बुक गरिएको छ भने कार्यक्रममा कांग्रेसका विभिन्न धारका प्रभावशाली नेताहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास गरिएको छ।

डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्यमा हुने भनिएको भेलामा डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. मिनेन्द्र रिजाल, एनपी साउद, राजीव कोइरालालगायत पूर्व तथा वर्तमान केन्द्रीय सदस्यहरूको सहभागिता रहने कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार भेलाको मुख्य उद्देश्य पार्टीभित्रका विभिन्न धारलाई एकै ठाउँमा ल्याएर एकताको सन्देश दिनु हो। “पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,” चापागाईंले भने।

यद्यपि, कांग्रेसको संस्थापन पक्षले भने उक्त कार्यक्रमबारे आफूहरूलाई कुनै औपचारिक जानकारी नआएको जनाएको छ। कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले कार्यक्रमबारे आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

चापागाईंले भने प्रदेश समितिको ब्यानरमा कार्यक्रम आयोजना गर्न लागिएको दाबी गर्दै यस्ता कार्यक्रम सञ्चालनका लागि केन्द्रीय समितिको अनुमति आवश्यक नपर्ने बताए। पार्टीभित्र एकताको पक्षमा आयोजना हुने कार्यक्रमलाई स्वाभाविक राजनीतिक गतिविधिका रूपमा लिनुपर्ने उनको भनाइ छ।

इतर पक्षका नेताहरूका अनुसार विराटनगरको भेला पार्टीभित्र असन्तुष्ट रहेका समूहहरू एकताबद्ध रहेको सन्देश दिने उद्देश्यले आयोजना गर्न लागिएको हो। शेखर कोइराला, विजय गच्छदार, कृष्ण सिटौला र डा. शशांक कोइरालालगायत नेताहरूलाई एउटै मञ्चमा उतार्ने प्रयासलाई उनीहरूले विशेष राजनीतिक सन्देशका रूपमा लिएका छन्।

पछिल्लो समय कांग्रेसभित्र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर विवाद चुलिँदै गएको छ। सभापति गगन थापाले पार्टीलाई मतदान नगर्ने व्यक्तिहरूको सदस्यता कायम राख्न नसकिने अभिव्यक्ति दिएपछि इतर पक्षले त्यसको चर्को आलोचना गर्दै आएको छ। इतर पक्षले नेतृत्वले तल्लो तहका कार्यकर्ताप्रति अन्याय गरेको आरोप लगाउँदै आएको छ।

यही असन्तुष्टिको पृष्ठभूमिमा कोशी प्रदेशमा विभिन्न चरणका भेला तथा छलफल हुँदै आएका छन्। वैशाख २९ गते विराटनगरमा आयोजित प्रदेशस्तरीय भेलादेखि जेठ ७ गतेको महानगरस्तरीय बैठकसम्म इतर पक्षले संगठनात्मक रूपमा आफ्नो उपस्थिति देखाउँदै आएको छ।

जेठ २२ गते मोरङ जिल्ला पार्टी कार्यालयमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी छलफलका क्रममा विवाद उत्पन्न भएपछि कांग्रेस सहमहामन्त्री डीना उपाध्याय संग्रौलाविरुद्ध नाराबाजीसमेत भएको थियो। सदस्यता नवीकरण प्रक्रियामा वडा सभापतिहरूको भूमिका कटौती गरिएको भन्दै स्थानीय नेतृत्वले असन्तुष्टि जनाउँदै आएको छ।

इतर पक्षले आगामी भेलामार्फत पार्टीभित्रको असन्तुष्टिलाई थप संगठित गर्दै नेतृत्वमाथि दबाब बढाउने रणनीति लिएको बुझिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka