






विराटनगर । झापाको बाह्रदशी गाउँपालिका–१ स्थित खैरबारी भित्री सडकमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्।
दिउँसो करिब ३ः४० बजे भारतीय नम्बर प्लेट (BR 37 AZ 6440) भएको मोटरसाइकल र प्रदेश नम्बर १–०१–०१६ प ९२७० नम्बरको नेपाली स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। भिडन्तपछि दुवै सवारी चालक गम्भीर घाइते भएका थिए।
झापा प्रहरीले दिएको जानकारीअनुसार गम्भीर अवस्थाका घाइतेलाई तत्काल उद्धार गरी भद्रपुरस्थित प्रदेश अस्पताल पुर्याइए पनि दिउँसो ४ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक स्कुटर चालक कचनकवल–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् भने मोटरसाइकल चालकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा स्कुटरमा सवार श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मीला राजवंशी र उनका ३ वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते भएका छन्। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय राजगढबाट इन्स्पेक्टरको नेतृत्वमा टोली खटाइएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।