






विराटनगर । मोरङ र सुनसरीमा भएको दुई अलग–अलग मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ टाँडी–रमिते सडक खण्डमा शनिबार दिउँसो ४ बजेतिर मे २ प ९०९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।
सडकबाट खसेर रुखमा ठोक्किँदा मोटरसाइकल चालक उर्लाबारी नगरपालिका–४ का १७ वर्षीय आरब डाँगी गम्भीर घाइते भए। उपचारका लागि अरनिको अस्पताल, उर्लाबारी लगिएकोमा चिकित्सकले उनलाई ४:५० बजे मृत घोषणा गरेका हुन्।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति, उर्लाबारी–४ का १७ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन्। दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सुनसरीको दुर्घटना
रामधुनी नगरपालिका–८ डुम्राहामा दिउँसो ३:३० बजेतिर को ३८ प १६३६ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा पछाडि सवार रामधुनी–८ का २१ वर्षीय आनन्द सिंह खवासको मृत्यु भएको छ।
इनरुवाबाट डुम्राहातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेपछि खवासलाई विराट शिक्षण अस्पताल, बूढीगंगा लगिएको थियो, जहाँ ४:२२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक रामधुनी–८ का २२ वर्षीय मुकेश साह, दीपनारायण चौधरी, र रामधुनी–९ का २८ वर्षीय अभिषेक सिंह घाइते भएका छन्।
उनीहरूको अवस्था सामान्य रहेको कोशी प्रदेश ट्राफिक प्रहरीका निमित्त प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार सुनसरीको दुर्घटना ट्राफिक नियम उल्लंघन गरी एकै मोटरसाइकलमा चार जना चढेकै कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुवै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।