काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे । त्यस्तै, निरोशन डिकवेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१, रुबेन ट्रम्पेलमले १५ र समिम हुसेनले १३ रनको योगदान दिए ।
जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले दुई–दुई विकेट लिए । ललित राजवंशी, कप्तान हर्मित सिंह र अभिषेक तिवारीले एक–एक विकेट हात पारे ।
यसै खेलमा ललित राजवंशीले जारी सिजनको पहिलो बलमै विकेट लिँदै पहिलो ‘गोल्डेन डक’ गराउने बलर बने । उनले लुम्बिनीका डार्सी सर्टलाई पहिलो ओभरको पहिलो बलमै राहुल यादवबाट क्याच गराएका थिए ।
हाल अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी जित निकाल्दै आफ्नो अग्रता थप फराकिलो बनाउने योजनामा छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेल वर्षाका कारण रद्द हुँदा पाँच अंक जोडेको छ ।
यता, जनकपुर पनि जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रिएको छ । चार खेलबाट दुई जित र दुई हार बेहोरेको जनकपुर चार अंकसहित तालिकाको चौथो स्थानमा छ ।
