Premier Cables

विराटनगर

युद्धग्रस्त इसराइलमा अड्किए विराटनगरका मेयर नागेश कोइराला : बम पड्कनु अघि नै दाैडिएर छिर्छन् बङ्कर

Calendar सोमबार, असार ०२, २०८२  | राती ८:४५ बजे

विराटनगर । इसराइलको कृषि तथा सहकारी अभ्यासबारे अध्ययन गर्न आठ दिनअघि इजरायल पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अहिले युद्धग्रस्त क्षेत्रमै अड्किएका छन्। इजरायल र इरानबीचको पछिल्लो सैन्य तनावले विश्वभर चिन्ता थपिरहेको बेला उनी इजरायलमै संकटको साक्षी बनेका हुन्।

कोइराला जेठ २६ गते इसराइलको राजधानी तेल अविभ नजिकै रहेको सेफाइम भन्ने सहर पुगेका थिए। उनी इसरायली विदेश मन्त्रालयको निमन्त्रणामा कृषि तथा सहकारी क्षेत्र अध्ययन गर्न गएका थिए। तर भ्रमणको तेस्रो दिनदेखि इजरायल र इरानबीच सुरु भएको युद्धका कारण उनी अन्य देशका जनप्रतिनिधिसँगै सुरक्षित बंकरमा बस्न बाध्य छन्।

बिज्ञापन

‘बंकरमा लुकेर पाँच दिन बिताएँ’

मेयर कोइरालाले भने, “बंकर भित्र र बाहिर गर्दै पाँच दिन बित्यो। अब त नेपाल फर्कन पाइने दिनको प्रतीक्षा मात्रै हो। यस्तो अनुभव संसारको कुनै व्यक्तिलाई नपरोस् भन्ने लागिरहेको छ।”

उनका अनुसार युद्ध सुरु भएपछि दिनरात बंकरमै बितिरहेको छ। साइरन बज्नेबित्तिकै बंकर छिर्ने र केही समयपछि बाहिर निस्कने काम नै उनको दैनिकी बनेको छ। “सुरूमा त कति पटक बंकर छिरियो भनेर गन्दै थिएँ। अहिले गन्नै छाडिएको छ,” उनले भने।

नियत कार्यक्रम अनुसार उनी सोमबार इसराइलको नटानिया भन्ने ठाउँमा सहकारी अभ्यासको अध्ययनमा व्यस्त हुने थिए। त्यसैगरी अर्को नेपाली टोली पनि इसराइल जान तयार थियो। तर युद्ध सुरु भएपछि उक्त टोली रोकियो भने कोइराला भने त्यहीँ फसे।

इसराइलमा रहेका १७ जना फिलिपिनो जनप्रतिनिधिहरूको समूहमा उनी एक्ला नेपाली प्रतिनिधिका रूपमा छन्। उनी टोलीका नेतासमेत भएकाले अन्य साथीहरूलाई छाड्न नचाहेको उनले बताए। “टोली नेता हुँ भनेर साथीहरू छाडेर हिँड्ने कुरा भएन नि,” उनले हाँस्दै भने।

इजरायलमा रहेका नेपाली राजदूत धनप्रसाद पण्डितले कोइरालालाई सुरक्षित स्थानमा लैजान प्रयास गरिरहेको जानकारी दिए। “अढाई घण्टाको दूरीमा जोर्डनको सिमाना पर्छ। भिसा मिल्यो भने मेयरसाबलाई त्यतै पठाउने प्रयासमा छौं,” पण्डितले भने, “त्यो नभए इजिप्टको भिसा मिलाउने प्रयास पनि गरिन्छ।”

कोइरालाको असार ६ गते (जुन २०) नेपाल फर्कने कार्यक्रम थियो। तर, इजरायली विमानस्थल तत्काल खुल्ने सम्भावना नदेखिएपछि वैकल्पिक बाटोको खोजी भइरहेको राजदूत पण्डितले जानकारी दिए।

‘अब त बमको आवाज पनि सामान्यजस्तो लाग्छ’ कोइरालाले भने, “रातभर आकाशमा बिजुली चम्केझैं मिसाइल घुमिरहन्छ। बमको आवाज पनि अब पटाकाजस्तै लाग्न थालेको छ।” उनका अनुसार साइरन बजेको करिब डेढ मिनेटभित्र सबैजना बंकरमा पुग्नुपर्छ। त्यसपछि १०–२० मिनेटपछि मोबाइलमार्फत बाहिर निस्कन सन्देश आउँछ।

उनले आफ्नो परिवार र विराटनगरका सहकर्मीहरूसँग नियमित सम्पर्कमा रहेको बताए। “उनीहरू पनि धेरै आत्तिएका छैनन्, म पनि आत्तिएको छैन। आत्तिए पनि नडराई आत्तिइरहेको छु,” उनले व्यंग्य शैलीमा भने।

इजरायलमा कति नेपाली छन् ?

राजदूत पण्डितका अनुसार इजरायलमा अहिले करिब ५ देखि ७ हजार नेपाली छन्। तीमध्ये २ हजारजति सरकारी कार्यक्रममार्फत पुगेका हुन्। ३५० जना कृषि क्षेत्रमा काम गर्छन् भने ७ जना विद्यार्थी छन्।

त्यसबाहेक भारतीय पासपोर्टधारी र अन्य देशबाट इजरायल प्रवेश गरेका नेपाली पनि छन्। सबै नेपाली सुरक्षित रहेको पुष्टि गरिएको छ। इरानमा रहेका १२ जना नेपाली पनि हाल सुरक्षित अवस्थामा छन्।

युद्धको जोखिमबीच इजरायलमा अड्किएका मेयर कोइराला र अन्य नेपालीहरू सुरक्षित रहून् भन्ने कामना गरौँ। राजदूतावास र सम्बन्धित निकायहरू उनीहरूको शीघ्र उद्धारमा लागिपरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो