






काठमाडौं । असार महिनाको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकको सुधार भएको छ । यस दिन नेप्से सूचक ०.४७ विन्दुले बढेर २६५५.८५ अंकमा आएको छ । ११ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । उत्पादनमूलक समूहमा बढी तेजी देखिएको छ । यस समूहका कतिपय कम्पनीहरुको सेयर कारोबार बढेको छ भने मूल्यमा पनि सुधार भएको देखिन्छ । त्यसो त यो समूह निकै लामो समयदेखि बढ्न सकेको थिएन ।
असारका लागि बैंकहरुले फेरि ब्याजदर घटाएका छन् । कतिपयले ब्याजदर घटाउँदा अधिकांशले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । अर्थात् कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् । वित्तीय प्रणालीमा अधिक तरलता रहेको छ । बैंकमा पैसा थुप्रिएमा कर्जा प्रवाहले खासै गति लिएको छैन । यसकारण बैंकहरुले लामो समयदेखि निरन्तरजसो ब्याजदर घटाउँदै आएका छन् ।
अधिक तरलताको अवस्था विद्यमान रहेकाले तत्काल ब्याजदर बढ्ने अवस्था नरहेको बैंकरहरु बताउँछन् । असार महिनामा त अझै बैंक–वित्तीय संस्थाहरुले खासै नयाँ कर्जा प्रवाह गर्दैनन् । सबैको ध्यान रिकोभरीतिर गएको हुन्छ । त्यस्तै, साउन, भदौंसम्म पनि कर्जा प्रवाहले त्यति गति नलिने बैंकरहरु बताउँछन् ।
यसआधारमा केही महिना अधिक तरलताको अवस्था नै रहने सेयर लगानीकर्ताहरुको बुझाई रहेको देखिन्छ । बैंकरहरुका अनुसार अहिले सेयर धितो कर्जामा अलिबढी चार्म देखिएको छ । अरु क्षेत्रका कर्जामा खासै माग छैन । यसकारण सेयर बजारतिरै कर्जा प्रवाहमा वित्तीय संस्थाले पनि जोड दिएको देखिन्छ ।
त्यसो त पछिल्लो समय ठूला कर्जाका लागि पनि जोखिमभार कम गरिएको छ । अब ५० लाखभन्दा माथिका सेयर कर्जामा पनि एक सय प्रतिशतमात्र जोखिमभार हुनेछ । यसले ठूला लगानीकर्ताहरुले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्ने क्रम बढ्न थालेको तथ्यांकहरुले देखाएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा पनि समग्र सेयर धितो कर्जा करिब ३९ प्रतिशतले बढेको छ । ठूला कर्जाको माग अझ बढी छ । यसआधारमा बजारमा माग बढ्ने र त्यसले सेयर मूल्य बढाउन भूमिका खेल्न सक्ने विश्लेषणहरु भइरहेका छन् ।
त्यतिमात्र होइन, असार–साउनलाई सिजनका रुपमा समेत सेयर बजारमा लिने गरिएको छ । यो समयमा अधिकांश वर्षहरुमा सेयर बजार सकारात्मक भएको इतिहास छ । यस्तै, अब साउन लागेसँगै सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण सार्वजनिक हुन थाल्नेछ । मुनाफा बढाएको रिपोर्ट आएमा त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्न सहयोग गर्नेछ ।
वित्तीय विवरण सार्वजनिक भएलगत्तै लाभांश घोषणा गर्ने समय सुरु हुनेछ । यी कारणहरुले वर्षायाममा सेयर बजार तुलनात्मकरुपमा बढी सकारात्मक र चलायमान हुने गरेको पाइन्छ । कारोबार रकम बढ्दै गएकाले बजारमा सहभागीहरुको सख्ंया बढेको र विस्तारै सकारात्मक बाटो समाउन सक्ने अनुमान गरिएको हो ।
त्यसो त समयदेखि नेप्सेले २६ सयको लाइन पार गरेर माथि जान सकेको छैन । अहिलेसम्मको बजारले साइडवेज ट्रेन्ड तोडिसकेको देखाउँदैन । बढ्दो कारोबार रकमले आगामी दिनमा पनि निरन्तरता पाउँदै गएमा भने सूचक माथि जान सक्ने जानकारहरुको विश्लेषण छ ।
बजारमा क्रेता र बिक्रेताको सक्रियता बढेको स्पष्टरुपमा देखिन्छ । विस्तारै मीड तथा हाइ क्यापका कम्पनीमा समेत लगानीकर्ता सिफ्ट भएको पाइन्छ । लाभांश दिन सक्ने कम्पनीहरु पनि अब क्रमशः लगानीकर्ताको रोजाईमा पर्न सक्ने संकेतहरु देखिएका छन् ।
बजार नबढेको करिब ११ महिना भइसकेको छ । नेप्से निकै लामो समय साइडवेजमा पनि बस्यो । वातावरण विस्तारै सहज बन्दै गएकाले अब यसले क्रमशः गति लिने अनुमानहरु भइरहेका छन् ।
यस्तै, आगामी मौद्रिक नीति अझै सहज र लगानीमैत्री आउने गभर्नरले पूर्वसंकेत गरिसकेका छन् । यसले पनि आम लगानीकर्ताको मनोबल बढाउन भूमिका खेलेको पाइन्छ । समग्रमा सरकार तथा नियामक निकायहरु पनि सेयर बजार सुधारप्रति सकारात्मक रहेको पाइन्छ ।
नेप्सेले वर्षौं लामो बियरिस यात्रा पार गरिसकेको छ । यसकारण अब विस्तारै टे«न्ड चेन्ज हुने अनुमान गर्न सकिन्छ । सूचीकृत कम्पनीहरुको मुनाफा विस्तारै सकारात्मक बन्दै जान थालेको छ । यसअघि अर्थतन्त्र निकै कठिन मोडमा थियो । अब आगामी वर्ष अर्थतन्त्रका सूचकहरुमा पनि राम्रो वृद्धि हुने पूर्वानुमानहरु गरिएका छन् ।
बाह्य अर्थतन्त्रका सूचकहरु निकै मजुबत छन् । अब आन्तरिक अर्थतन्त्रका सूचकहरु समेत क्रमशः सबल बन्दै जाने संकेत भने देखिएको छ । यसले पनि बजारमा माहोल ल्याउन भूमिका खेल्ने देखिन्छ । किनभने सेयर बजारमा अर्थतन्त्रको अवस्थाले महत्वपूर्ण भूमिा खेल्ने विश्वास गरिन्छ ।
यस दिन ३ सय ८ कम्पनीको २ करोड ५३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८९ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनी परेका छन् ।