






काठमाडौं । ४ कार्य दिनको लगातार गिरवाटपछि सोमबार सेयर बजार सकारात्मक भएको छ । नेप्से सूचक २७.२९ विन्दुले बढेर २६५७.१९ अंकमा आएको छ । ८ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार छ । अन्य र हाइड्रोपावर समूहमा बढी उत्साह देखिएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
बजार निकै लामो समयदेखि माथि जान नसकेकाले कुनै पनि बेला युटर्न हुन सक्ने देखिन्छ । यद्यपि, कहिलेदेखि सकारात्मक माहोल आउँछ भनेर अल्पकालका लागि विश्लेषण गर्न भने कठिन कार्य हो । तर बजार बढ्नका लागि आवश्यक अधारभूत पक्षहरुले भने सपोर्ट गरिहेको छ । यसकारण लगानीकर्ताहरु आशावादी हुन सक्ने ठाउँ रहेको देखिन्छ ।
त्यसो त लगानीकर्ताहरु महिनौंदेखि चलेको साइडवेज ट्रेन्ड ब्रेक भएर बजार अघि बढ्ने तीब्र प्रतीक्षामा रहेका छन् । पछिल्ला दिनहरुमा समग्र बजार सुस्त छ । तर एकाध कम्पनीहरुमा भने निकै राम्रो टर्नओभर देखिएको छ । कुनै पनि समूहका पूरै कम्पनी चलेका छैनन् । निश्चित समूहका पनि केही सीमित कम्पनीको मात्र भाउ बढ्ने र कारोबार रकममा तेजी आउने गरेको देखिन्छ ।
तर निकै लामो समयदेखि बजार स्थिरजस्तै भएकाले कुनै पनि यसले बेला युटर्न लिन सक्ने जानकारहरु बताउँछन् । किनभने नेप्से पछिल्ला दिनहरुमा २६ सय विन्दुभन्दा तल झर्न मानिरहेको छैन । सूचक २६ सयको मनोवैज्ञानिक विन्दु नजिकतिर आउने बित्तिकै पुनः बाउन्स ब्याक हुने गरेको छ । यसआधारमा २६ सयलाई बेस लाइन बनाएर बजार अघि बढ्न खोजिरहेको जस्तो देखिन्छ ।
यद्यपि, २६ सयको लाइनलाई तोडेर नेप्से २७ सयतिर उक्लिहाल्न सकेको छैन । यसआधारमा लामो समयसम्म यही करिब १ सय अंकको वरिपरि बजार सूचक घुमिरहेको छ । तर अलि लामो टाइम फ्रेमबाट हेर्ने हो भने चाहिँ नेप्से सूचक २५ सयदेखि २८ सयको बीचमा घुमिरहेको छ ।
बैंकमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारलाई माथितिरै लैजान खोजिरहेको छ । तर अझै ठूलो रकम बजारमा भित्रिनसकेकाले फन्डामेन्टल कम्पनी चलिसकेका छैनन् । समग्र बजारमा तेजी आउनका लागि आधारभूतरुपमा सबल अवस्था रहेका, लाभांश वितरण क्षमतासमेत राम्रो रहेका कम्पनीहरु अघि बढ्नुपर्ने हुन्छ । तर अब विस्तारै यस्तो माहोल आउन सक्ने लगानीकर्ताले अनुमान लगाइरहेका छन् ।
सेयर बजारका लागि सामान्ययतः सिजन मानिने असार–साउन महिना नजिकिंदैछन् । यता, महिनौंदेखि बजार नबढेकाले सेयर भाउहरु सस्तो भएका छन् । अब साउन लागेसँगै कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउन थाल्नेछ । त्यसलगत्तै लाभांश घोषणको समय सुरु हुनेछ । यी कुराहरु पनि बजारमा सकारात्मक प्रभाव पर्दै जाने अपेक्षा गर्न सकिन्छ ।
तर फन्डामेन्टल कम्पनी चल्नका लागि भने कारोबार रकममा पनि तेजी आउनुपर्छ । डिमान्ड साइड निकै बलियो हुनुपर्छ । संस्थागत र ठूला लगानीकर्ताको प्रवेश हुनु अनिवार्यजस्तै मानिन्छ । अहिले बैंकहरुले अल्पकालीन सेयर कारोबार गर्न नपाउने भएकाले दैनिक कारोबार रकममा खासै तेजी आउन नसकेको भनेर विश्लेषण गर्नेहरु पनि छन् ।
धेरै नीतिगत अवरोधहरु हटे पनि बैंक–वित्तीय संस्थालाई अल्पकालीन कारोबार गर्न दिने व्यवस्था र व्यक्तिगततर्फ सेयर धितो कर्जाको सीमा भने अझै खुला गरिएको छैन । आगामी मौद्रिक नीतिबाट यी समस्या पनि समाधान हुने विश्वास लगानीकर्ताहरुले लिएको पाइन्छ ।
पछिल्ला दिनहरुमा सेयरहरु एकुमुलेसन भइरहेको भए पनि त्यो क्रम भने निकै सुस्त गतिमा चलेको लगानीकर्ताहरुको भनाई छ । निकै सुस्त किसिमले सेयर खरिद भइरहेकाले समग्र बजारको साइडवेज ट्रेन्ड लामो भएको हो भने कारोबार रकम पनि कम हुन गएको देखिन्छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भए पनि कर्जा लिएर त्यसलाई प्रयोग गर्न सक्ने सामथ्र्य धेरैको छैन । कर्जा लिन सक्ने क्षमतामै ह्रास आएपछि प्रणालीमा अधिक तरला भए पनि त्यो अहिलेसम्म अपेक्षा अनुसार सेयर बजारमा आउन सकेको छैन ।
त्यसो त केन्द्रीय बैंकले हालैमात्र ठूला कर्जाका लागि जोखिमभार कम गरेकाले अब विस्तारै ठूला तथा संस्थागत लगानीकर्ताहरुले सेयर धितो कर्जा लिनेक्रम बढाउने अनुमानहरु भइरहेका छन् । बैंक ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ । यतिबेला बैंकमा निक्षेप राखेर खासै ब्याज आउने अवस्था छैन । यसकारण निक्षेपकर्ताहरु विकर्षित भइरहेको देखिन्छ ।
यस्तै, लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन् । घरजग्गा व्यवसाय समस्यामा परेको छ । नयाँ उद्योगधन्दा पनि खासै खुल्न सकेको छैन । समग्र अर्थतन्त्र अझै मन्दीमै छ । यस्तो अवस्थामा सुरुवातमा सेयर बजारले नै सकारात्मक संकेतहरु दिन सक्ने अनुमान गरिएको छ । थला परेको अर्थतन्त्र सुधारको प्रस्थान विन्दु सेयर बजार हुन सक्ने संकेत देखिएको छ ।
त्यसो त सेयर बजारले निकै लामो समय बियरिस र साइडवेज चरण बिताएको छ । २०७८ भदौदेखि बजार बियरिस चरणमा रहेको र करिब ११ महिनादेखि साइडवेजमा छ । सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थामा विस्तारै सुधारका संकेतहरु देखिएका छन् । यी कारणहरुले आगामी दिनहरु सेयर बजारका लागि सकारात्मक हुँदै जाने लगानीकर्ताहरुको विश्वास र बुझाई रहेको देखिन्छ ।
यस दिन ३ सय २४ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६२ करोड २८ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर परेका छन् ।