विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेसन अन्तर्गत वडास्तरीय अधिवेशनहरु सम्पन्न हुने चरणमा छन् । मोरङ पार्टी सभापति डिगबहादुर लिम्बूका अनुसार मोरङको क्षेत्र नम्बर १ का सबै वडामा सर्वसम्मत नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
त्यस्तै मोरङको क्षेत्र नम्बर २ मा २९ वडामध्ये ३वटामा निर्वाचनद्वारा र २६ मा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । क्षेत्र नम्बर ४ र ५ मा पनि नेृतृत्व चयन भईसकेका छन् । यसैगरी ३ का केही वडामा भने निर्वाचन भएको छ ।
क्षेत्र नम्बर ६ मा भने क्रियाशील सदस्यता विवादका कारण रोकिएको वडा अधिवेशन बुधबार सम्पन्न हुने अध्यक्ष लिम्बूले बताए । क्षेत्र नम्बर ६ को सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा विवाद हुँदा निर्वाचन रोकिएको थियो । अब पार्टी नेतृत्वसँगको छलफलपछि निर्वाचन प्रक्रियामा गएको छ ।
त्यस्तै विराटनगर महानगरपालिका वडा नम्बर ६ मा बुधबार निर्वाचन भईरहेको लिम्बूले बताए ।
कार्यतालिका अनुसार असोज ७ गते नगर अधिवेशन सम्पन्न गर्नुपर्नेमा जिल्लाभरिका केही वडाहरुमा क्षेत्रीय प्रतिनिधि र कार्यसमिति चयन ढिलाई भएका कारणले नगर अधिवेशनलाई एक दिन पछाडि सारिएको छ । लिम्बूले भने,‘‘सहमतिको आधारमा नै पालिकाहरुमा पनि अधिवेशन सम्पन्न गर्ने तयारी छ । नमिलेको खण्डमा निर्वाचनबाट नेतृत्व चयन हुनेछ । अहिले जिल्लामा छनोट भएका प्रतिनिधिको नामावली अद्यावधिक गर्ने काम भईरहेको छ । जिल्लाभरिबाट ४ हजारभन्दा बढी प्रतिनिधि रहेकाले केही प्राविधिक कठिनाई छन् ।’’
उनले जनशक्ति बढाएर त्यसलाई अध्यावधिक गर्ने काम भईरहेको लिम्बूले जानकारी दिएका छन् । लिम्बूले पार्टी कार्यालयमा पत्रकारसँगको छलफलमा रुख र चारतारे झन्डा भएको अधिवेशनमा सहभागिता जनाउन सबै क्रियाशिल सदस्यहरुलाई अनुरोध गरिएको बताए । उनले दुई कार्यकाल जिल्ला चलाईसकेको र अब क्रमागत रुपमा प्रदेशको सभापतिमा आफ्नो दाबी रहेको पत्रकारहरुसँग बताए ।
