काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभाव नेपालमा देखिन थालेको छ। यसको प्रभावले बिहीबार बिहानैदेखि कोसी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार कोसी प्रदेशमा बिहान ७ बजेतिर केही समय वर्षा भएको थियो। त्यसपछि बिहान ८ बजेदेखि पुनः वर्षा भइरहेको छ। देशका अन्य भूभागमा भने सामान्यतया बादल लागेको उनले बताइन्।
चक्रवात कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसको प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। महाशाखाले यसअघि नै उक्त प्रणालीको प्रत्यक्ष प्रभाव नेपालमा नपर्ने स्पष्ट पारेको थियो।
काठमाडौंमा आज रातिदेखि वर्षाको सम्भावना
मौसमविद् निरौलाका अनुसार काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि हल्का वर्षा हुने सम्भावना छ। बिहीबारदेखि शनिबारसम्म काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
काठमाडौंमा निरन्तर वर्षा नभई केही समय पर्ने, रोकिने र पुनः वर्षा हुने सम्भावना रहेको उनले बताइन्। उपत्यकाका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहे पनि त्यसको जोखिम न्यून रहेको उनको भनाइ छ।
यस अवधिमा काठमाडौंमा ठूलो हावाहुरीको सम्भावना नरहेको मौसमविद् निरौलाले बताइन्। तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना तुलनात्मक रूपमा बढी रहेको छ भने हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
चक्रवातको अप्रत्यक्ष प्रभावका कारण आगामी केही दिन देशका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
