काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पारित नीति तथा निर्णय जनतामाझ पुर्याउन र पार्टी संगठन सुदृढ बनाउन मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले अभियानको घोषणा गरेका हुन् ।
थापाका अनुसार अभियानमार्फत महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदायस्तरसम्म पुर्याइनेछ । विगतको समीक्षा र आलोचनाको चरण सकिएकाले अब मुलुकका समस्याको समाधानमा केन्द्रित हुनुपर्ने उनले बताए ।
कांग्रेस प्रतिपक्षीको भूमिका र स्थानीय तहको जिम्मेवारी निर्वाह गर्न तयार रहेको उल्लेख गर्दै थापाले पार्टीका नेता तथा कार्यकर्तालाई यी जिम्मेवारीबारे आम नागरिकलाई जानकारी गराउन निर्देशन दिए ।
उनले आगामी तिहार र छठ पर्वका अवसरमा पार्टीका विभिन्न कमिटीले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रमलाई समुदायसँग जोड्न पनि आग्रह गरे ।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई टोलटोल र वडावडामा पुगेर लामो सम्मान कार्यक्रम आयोजना नगर्न निर्देशन दिँदै थापाले संगठनलाई जनतासँग जोड्ने र पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउने काममा ध्यान दिनुपर्नेमा जोड दिए ।
