काठमाडौँ । यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनका कारण बढेको तापक्रम जिम्मेवार रहेको छ।
अनुसन्धानकर्ताहरूले जुनदेखि अगस्टसम्म युरोपका ८५४ सहरमा गरेको अध्ययनअनुसार ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित थियो। यो सन् २०२२ को गर्मीयाममा जलवायु परिवर्तनका कारण भएको अनुमानित २९ हजार ४८० मृत्युको तुलनामा ७१ प्रतिशत बढी हो।
अध्ययनमा युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटिएकाले वास्तविक मृत्युसङ्ख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सका अनुसार जीवाश्म इन्धनको प्रयोगबाट बढेको तापक्रमले सामान्य गर्मीलाई समेत खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्याएको छ।
अध्ययनअनुसार युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियसले बढिसकेको छ। यस वर्षको गर्मीयाममा केही सहरको तापक्रम सामान्य अवस्थाभन्दा १२ डिग्री सेल्सियससम्म बढी पुगेको थियो।
जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको यस अध्ययनले देखाएको छ। अत्यधिक गर्मीबाट हुने मृत्युको बढ्दो सङ्ख्याले जलवायु परिवर्तन नियन्त्रण र गर्मीबाट नागरिकलाई सुरक्षित राख्ने उपायहरू अपनाउनुपर्ने आवश्यकतालाई थप उजागर गरेको छ।
