काठमाडौं । यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा खसीको मासु महँगिने भएको छ। कलंकीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अनुसार यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ८५० देखि ९०० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। विराटनगरमा पनि ९०० देखि १००० रुपैयाँसम्म पर्ने बताइएको छ ।
गत वर्ष जिउँदो खसी प्रतिकिलो अधिकतम ७५० रुपैयाँसम्ममा बिक्री भएको थियो। यस वर्ष मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म बढ्ने देखिएको छ। जिउँदो खसीकै मूल्य बढेपछि तयारी मासुको मूल्यसमेत महँगिने भएको हो। अहिले बजारमा खसीको मासु प्रतिकिलो १ हजार ७०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
चौपाया खरिद–बिक्री केन्द्रका अध्यक्ष जीवनराज खतिवडाका अनुसार गाउँमा खसीबोकाको उत्पादन घट्नु र हालैको बाढीपहिरोका कारण विभिन्न राजमार्ग तथा सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या आउनुले मूल्य बढेको हो।
यद्यपि, च्याङ्ग्राको मूल्य भने गत वर्षकै हाराहारीमा रहेको छ। अहिले च्याङ्ग्रा प्रतिकिलो १ हजार २५० देखि १ हजार ३५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ।
केन्द्रका अनुसार यस वर्ष दसैँका लागि काठमाडौं उपत्यकामा २२ देखि २३ हजार खसीबोका र करिब ४ हजार च्याङ्ग्रा भित्र्याउने तयारी गरिएको छ। देशका ४० जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा आयात हुँदै आएको छ।
