विराटनगर । विराटनगरमा आगामी कात्तिक २ गते अर्थात् अक्टोबर १७ तारिख डान्डिया नाइट २.० आयोजना हुने भएको छ। विराटनगरको जैन भवनमा साँझ ६ बजेदेखि कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ।
कार्यक्रमलाई लक्षित गर्दै विराटनगरको एयरपोर्ट रोडस्थित कुश गार्डेनमा इन्फ्लुएन्सर मिट सम्पन्न भएको छ। कार्यक्रममा विराटनगर तथा इटहरी क्षेत्रका विभिन्न इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूको सहभागिता रहेको थियो।
इन्फ्लुएन्सर मिटमा डान्डिया नाइटबारे जानकारी दिनुका साथै परिचयात्मक सेसन आयोजना गरिएको थियो। सहभागीहरूलाई गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको थियो।
ह्यासट्याग इभेन्ट्स तथा विश्व हिन्दू परिषद् मोरङको सहकार्यमा आयोजना हुन लागेको डान्डिया नाइटको यो दोस्रो संस्करण हो। आयोजकका अनुसार पहिलो संस्करण पनि भव्य रूपमा सम्पन्न भएको थियो।
डान्डिया नाइटलाई मनोरञ्जनसँगै च्यारिटी इभेन्टका रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रमबाट प्राप्त नाफा सामाजिक कार्यका लागि दान गरिने बताइएको छ।
हिन्दू परम्परालाई मनोरञ्जनसँग जोड्दै आपसी सद्भाव र सामाजिक एकता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विश्व हिन्दू परिषद् मोरङ युवा अध्यक्ष आलोक शाहले जानकारी दिए। उनका अनुसार यस वर्षको कार्यक्रमलाई अझ भव्य बनाउने तयारी गरिएको छ।
डान्डिया नाइटको टिकट मूल्य ४ सय रुपैयाँ निर्धारण गरिएको छ। विराटनगरका विभिन्न स्थानबाट टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ।
कार्यक्रममा डान्डिया तथा विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ।

