विराटनगर । विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलले सरस्वती पूजाको अवसरमा आयोजना गरेको अन्तर–भजन कीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ । १६ वटा भजन समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो ।
प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्न सफल भयो भने निर्मल टोल भजन समूह तृतीय बन्दै नगद १० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो । त्यसैगरी शान्ति भजन मण्डलीले सान्त्वना पुरस्कारस्वरूप नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
कवि तथा पत्रकार मीनकुमार नवोदितको संयोजकत्वमा गठन गरिएको निर्णायक समितिमा झापाका भजन संगीतकार विनोद खतिवडा र दिनेश खरेल सहभागी थिए । शब्द चयन, स्वर, ताल, लय, भाव, हाउभाउ, प्रस्तुति, भेषभूषा र समयपालनका आधारमा मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको संयोजक नवोदितले जानकारी दिए ।
प्रतियोगितामा सहभागी सबै भजन समूहलाई प्रोत्साहनस्वरूप नगद १ हजार ५ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।
विद्यालयका प्राचार्य विजय डागीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक सीएम श्रेष्ठ, निर्णायक मीनकुमार नवोदित, कोअर्डिनेटर नारायण स्वर्णकार, नीता अधिकारी, दिनेश ढकाल, समाजसेवी खेम तिम्सिना, वीरेन्द्र थापालगायतले विजेता समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले भजन–कीर्तन प्रतियोगितामार्फत धार्मिक तथा सांस्कृतिक चेतना विस्तारमा मार्टस मेमोरियल स्कुलले महत्वपूर्ण योगदान दिएको बताए । उनले स्थानीय तहले भजन समूहलाई वाद्यवादन सामग्री उपलब्ध गराउँदै सहयोग गर्दै आएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक ऊर्जा फैलाउने धारणा व्यक्त गरे ।
विद्यालयका सञ्चालक सीएम श्रेष्ठले सनातन धर्मप्रति बालबालिकाको आस्था अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । आगामी वर्ष प्रतियोगितालाई अझै वृहत्तर र व्यवस्थित बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
प्याब्सन विराटनगरका पूर्वअध्यक्ष इन्द्र राईले यस्ता धार्मिक–सांस्कृतिक प्रतियोगिताले बालबालिकामा आध्यात्मिक चेतना विकास गर्दै सत्मार्गतर्फ प्रेरित गर्ने बताए । निर्णायक नवोदितले पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएको सन्दर्भमा नेपाली भाषा, संस्कृति र मौलिक पहिचान संरक्षणका लागि यस्ता प्रतियोगिता अपरिहार्य रहेको धारणा राखे ।
प्राचार्य डागीले प्रतियोगिता अपेक्षाभन्दा भव्य, सभ्य र अनुशासित रूपमा सम्पन्न भएको जनाउँदै अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्य प्रशंसनीय रहेको बताए ।
यसैबीच, विद्यालयका संस्थापक श्रेष्ठले प्ले ग्रुपमा मात्रै ८७ जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिँदै आगामी दुई–तीन वर्षभित्र संयुक्त प्रयासबाट मार्टस मेमोरियल स्कुललाई विराटनगरकै नमुना विद्यालय बनाउने लक्ष्य रहेको बताए ।
