काठमाडौं । बाढी तथा विपद् प्रभावित नागरिकहरूलाई समुदायस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालित सामुदायिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
आर्या फर्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा उक्त शिविर आयोजना गरिएको हो।
भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म नुवाकोटका विभिन्न क्षेत्रमा सञ्चालित शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गरिनुका साथै १२० जनाको भिडियो एक्स-रे (USG) परीक्षण गरिएको थियो।
शिविरमार्फत स्थानीय तथा प्रभावित समुदायका नागरिकहरूलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण तथा उपचारसम्बन्धी सेवा उपलब्ध गराइएको थियो। थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषित (रेफर) गर्ने व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।
आर्या फर्माल्याबले विपद्को कठिन समयमा प्रभावित नागरिकको स्वास्थ्य तथा पुनर्स्थापनामा सहयोग पुर्याउने आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी दिनमा पनि यस्ता आवश्यक सहयोग तथा स्वास्थ्य सेवाका कार्यक्रमहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ।
यसअघि पनि आर्या फर्माल्याबले विपद् प्रभावितहरूका लागि रु. २८ लाखभन्दा बढी मूल्यको औषधिजन्य सामग्री सहयोग स्वरूप नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।

Oplus_16908288

Oplus_16908288
