विराटनगर । विराटनगरमा सम्पन्न ऐतिहासिक ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा सङ्कलित सम्पूर्ण भेटी रकम बाढीपीडितको सहयोगार्थ पठाइने भएको छ। रथयात्रा मूल समारोह समितिले धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको हो।
आज बिहान गरिएको गणना अनुसार श्रद्धालु भक्तजनहरूबाट कुल रु २ लाख ८२ हजार ४१८ भेटी सङ्कलन भएको छ। यद्यपि, रथयात्रामा सहभागी भक्तजनहरूको अपार जनसागरको तुलनामा यो रकम अपेक्षा गरिएभन्दा निकै कम रहेको समितिले जनाएको छ।
समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार रथको बनावट र सुरक्षा संवेदनशीलताका कारण भक्तजनहरूको पहुँच सिधै रथसम्म हुन नसक्नु नै अपेक्षा अनुसार भेटी सङ्कलन नहुनुको मुख्य कारण हो। “भक्तजनको ठूलो उपस्थिति रहे पनि रथको पहुँचमा सबै पुग्न नसक्दा सोचेजति भेटी उठ्न सकेन,” संयोजक रेग्मीले भने।
सङ्कलित रकम कम भए पनि त्यसलाई पूर्ण रूपमा पारदर्शी ढङ्गले बैंकमार्फत कोषमा जम्मा गरिने जानकारी दिइएको छ। गत भदौ १० गते रसुवा र नुवाकोटको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन:स्थापनाका लागि यो सहयोग उपलब्ध गराउन लागिएको हो।
“यो सानो सहयोगले भोटेकोशी बाढीपीडितको घाउमा थोरै भए पनि मलम लगाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने हाम्रो विश्वास छ,” संयोजक रेग्मीले बताए। धार्मिक यात्राको भेटीलाई विपद् व्यवस्थापनमा उपयोग गर्ने समितिको यस सराहनीय निर्णयको स्थानीयस्तरमा व्यापक प्रशंसा भइरहेको छ।
