विराटनगर । रसुवामा आएको विनाशकारी बाढीको अद्यावधिक विवरण सार्वजनिक भएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म बाढीपहिरो प्रभावित विभिन्न जिल्लाबाट १६२ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार विपद्मा परी ४१ जना घाइते भएका छन्, उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ।
यसैबीच बाढीका कारण २८ जना प्रहरी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायका टोली परिचालन गरिएको छ।
रसुवामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीले सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको छ भने प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणको काम जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा अझै जोखिम कायमै रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
