काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि पुनः गम्भीर आरोप लगाएका छन्।
पार्टी सभापति रवि लामिछाने र आफ्नै दलका गृहमन्त्री सुधन गुरुङले जिम्मेवार बनेर प्रस्तुत हुन दिएको निर्देशनलाई बेवास्ता गर्दै सांसद सुनारले सार्वजनिक लेखा समितिको बैठकमा आईजीपी कार्कीमाथि प्रहार जारी राखेका हुन्।
यसअघि आईजीपीको घरबाट ३ करोड रुपैयाँ चोरी भएको विषय र प्रहरी स्रोत-साधन खरिदमा अनियमितता भएको भन्दै उनले दिएको अभिव्यक्ति विवादमा परेको थियो।
बिहीबार बसेको समितिको बैठकमा आफ्ना अघिल्ला अभिव्यक्तिमा अडिग रहेको दोहोर्याउँदै सुनारले प्रहरी हेडक्वार्टर बिचौलियाको कब्जामा रहेको आरोप लगाए। साथै, आफ्नो भनाइबाट मानमर्दन भएको लागे अदालतमा मुद्दा हाल्न आईजीपीलाई चुनौती दिँदै आफू कठघरामा उभिन तयार रहेको उनले बताए।
रास्वपा सभापति रवि लामिछानेले बुधबार मात्रै संसदीय दलको बैठक डाकेर सांसदहरूलाई संयमित र जिम्मेवार हुन निर्देशन दिएका थिए।
त्यसैगरी गृहमन्त्री गुरुङले पनि समितिका बैठकहरूमा प्रहरी प्रमुखमाथि आधारहीन आरोप लगाएर चरित्रहत्या नगर्न र त्यस्ता व्यवहारप्रति गृह मन्त्रालय असन्तुष्ट रहेको स्पष्ट पारिसकेका छन्।
उता आईजीपी कार्कीले भने प्रहरीले न्यूनतम स्रोत-साधनमा काम गरिरहेको उल्लेख गर्दै यस्ता आरोपमा कुनै सत्यता नरहेको र यस्ता अभिव्यक्तिले कसैलाई फाइदा नपुर्याउने भन्दै खण्डन गरेका छन्।
२१ फागुनको निर्वाचनका क्रममा प्रहरीका लागि पोशाक तथा आवश्यक सामान खरिदमा अनियमितता भएको उजुरीमाथि छलफल हुँदा समितिमा विवाद चर्किएको हो। पार्टी र सरकार दुवै पक्षबाट सचेत गराइँदा पनि सांसद सुनारले निरन्तर आईजीपीमाथि प्रहार गरिरहनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
