काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीका लागि खरिद गरिएको लत्ताकपडा तथा जुत्तामा भएको भनिएको अनियमितताको विषयमा तत्काल छानबिन गर्न माग गरेका छन्।
सांसद सुनारले सामाजिक सञ्जालमार्फत म्यादी प्रहरीको लत्ताकपडा तथा जुत्ता खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै तत्काल छानबिन समिति गठन गरी दोषी देखिएकामाथि कारबाही गर्नुपर्ने बताएका हुन्।
उनले उक्त प्रकरणमा गृहसचीव र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको समेत जिम्मेवारीबारे प्रश्न उठाउँदै उनीहरूलाई बर्खास्त गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
सुनारले आफ्नो टिप्पणीमा प्रहरी संगठनभित्र केही व्यक्तिले गरेको भनिएको बदमासीको भार सिङ्गो संगठनलाई बोकाउन नहुने बताएका छन्। उनले प्रहरी संगठनलाई थप सुदृढ र गौरवशाली बनाउन पारदर्शिता तथा जवाफदेहिता आवश्यक रहेको उल्लेख गरेका छन्।
‘जुत्ता लगाउने हो, खाने होइन’ भन्दै उनले प्रहरीका लागि खरिद गरिने सामग्रीको गुणस्तर र खरिद प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने विषयलाई व्यङ्ग्यात्मक शैलीमा उठाएका छन्।
म्यादी प्रहरीका लागि आवश्यक पोसाक तथा जुत्ता खरिदको विषय पछिल्लो समय विवादमा आएको छ। यस विषयमा उठेका प्रश्नको निष्पक्ष छानबिन गरी खरिद प्रक्रिया, मूल्य, गुणस्तर तथा जिम्मेवार पक्षबारे स्पष्ट पार्नुपर्ने मागसमेत उठिरहेको छ।
सांसद सुनारले भ्रष्टाचारविरुद्ध कडा कदम चालेर सुशासन कायम गर्नुपर्ने र जनमतको सम्मान गर्नुपर्ने बताएका छन्।
यद्यपि, खरिद प्रक्रियामा वास्तवमै भ्रष्टाचार वा अनियमितता भएको हो वा होइन भन्ने विषय सम्बन्धित निकायबाट हुने छानबिनपछि मात्रै पुष्टि हुनेछ।
