नोट: यो समाचार १ महिना अघिको हो
सांकेतिक फोटो
काठमाडौँ । अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन लागू भएपछि प्रविधि कम्पनी मेटाले साढे सात लाखभन्दा बढी अकाउन्ट हटाएको छ।
डिसेम्बरदेखि जुनसम्मको अवधिमा १६ वर्षमुनिका अस्ट्रेलियाली प्रयोगकर्ताले सञ्चालन गरेको आशंकामा ती अकाउन्टहरू बन्द गरिएको कम्पनीले जनाएको छ।
हटाइएका अकाउन्टमध्ये इन्स्टाग्रामका ४ लाख ६२ हजार र फेसबुकका २ लाख ९४ हजार रहेका छन्। बालबालिका तथा किशोरकिशोरीको मानसिक र शारीरिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव कम गर्न अस्ट्रेलियाली सरकारले यो कडा नीतिको घोषणा गरेको हो। तर, प्रतिबन्ध लागू भएको सुरुवाती तीन महिनामा गरिएको अध्ययन अनुसार अझै पनि ८० प्रतिशतभन्दा बढी नाबालकले कुनै न कुनै रूपमा सामाजिक सञ्जाल प्रयोग गरिरहेको पाइएको छ।
नियम पालना नगर्ने प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै सरकारले अधिकतम ९ करोड ९० लाख अस्ट्रेलियाली डलरसम्म जरिबाना गर्ने र नियमनकारी निकायलाई थप अधिकार दिने प्रस्ताव अघि सारेको छ।
यसैबीच मेटाले उमेर हद कार्यान्वयन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको सहयोग लिइरहेको बताएको छ। प्रयोगकर्ताको प्रोफाइलमा पोस्ट गरिएका जन्मदिनका विवरण, विद्यालय वा कक्षासँग सम्बन्धित सन्दर्भ र अन्य गतिविधिको विश्लेषण गरेर सम्भावित नाबालक अकाउन्ट पहिचान गर्ने गरिएको छ। बन्द गरिएका अकाउन्ट पुनः सञ्चालनमा आउन नदिन थप प्राविधिक कडाइ गरिएको कम्पनीको भनाइ छ।
यस विषयमा अस्ट्रेलियाली संसदीय छानबिन समितिले शुक्रबार मेटा, टिकटक, गुगल र स्न्यापच्याटका प्रतिनिधिहरूलाई बोलाएर कानुन कार्यान्वयनको स्थिति र अपनाइएका उपायहरूबारे जानकारी लिने कार्यक्रम रहेको छ।
