काठमाडौं । इरानले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा रेडियोधर्मी पदार्थयुक्त विस्फोट गराउने योजना बनाइरहेको अमेरिकी गुप्तचर सूचनाले देखाएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीलाई समेत निसाना बनाउन सक्ने आकलन गरिएको छ।
यद्यपि, यस्तो योजना कार्यान्वयन गर्ने क्षमता इरानसँग छ वा छैन भन्ने विषयमा अमेरिकी अधिकारीहरूबीच मतभेद रहेको छ। गुप्तचर सूचनाले तत्काल आक्रमण हुन लागेको पुष्टि नगरे पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अमेरिकी अधिकारीहरूले सुरक्षा सतर्कता बढाएका छन्।
ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले अमेरिकाले सबै सम्भावित खतराको निगरानी गरिरहेको बताएकी छन्। उनका अनुसार हाल अमेरिकी भूमिमा कुनै विश्वसनीय खतरा नरहेको निष्कर्ष छ।
अमेरिकी अधिकारीहरूले सैन्य आक्रमण र आर्थिक नाकाबन्दीको दबाबमा रहेको इरानले द्वन्द्वलाई अमेरिकी भूमिसम्म विस्तार गर्न सक्ने आशंका गरेका छन्। तर, इरानले आक्रमण गर्ने निर्णय गरिसकेको कुनै प्रमाण फेला नपरेको जनाइएको छ।
गुप्तचर निकायले अमेरिकाभित्र सम्भावित आक्रमणसँग सम्बन्धित सामग्री लुकाएर राखिएको हुन सक्ने संकेत दिने इरानी संवादसमेत फेला पारेको एक स्रोतले जनाएको छ।
यस विषयमा सीएनएनले अमेरिकी रक्षा मन्त्रालयमार्फत राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयसँग प्रतिक्रिया मागेको थियो। तर, उक्त कार्यालयले टिप्पणी गर्न अस्वीकार गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध चाँडै अन्त्य हुने बताएका थिए। तर, पछिल्लो गुप्तचर सूचनाले अमेरिका र इरानबीचको तनाव थप जटिल बन्न सक्ने संकेत गरेको छ।
