काठमाडौं | गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति सुरक्षा कायम राख्न सरकार सक्रिय रहेको बताएका छन्।
बुधबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्रालयले आवश्यक काम गरिरहेको बताए।
संवेदनशील घटनाका विषयमा प्रश्न उठाउँदा सांसदहरूले पनि संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ थियो। कुनै व्यक्तिको परिवारका सदस्यको निधनजस्तो घटनालाई पटक–पटक उठाउँदा पीडित परिवारलाई थप पीडा पुग्ने उनले उल्लेख गरे।
सम्बन्धित घटनाको अनुसन्धान जारी रहेकाले त्यसबारे अहिले टिप्पणी गर्नु उचित नहुने उनले बताए। अनुसन्धान सूक्ष्म रूपमा भइरहेकाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई उक्त विषय बारम्बार नउठाउन आग्रह गरे। आवश्यक परे व्यक्तिगत रूपमा आफूलाई सोध्न सकिने पनि उनले बताए।
निर्मला पन्त हत्या प्रकरणबारे भने अहिले टिप्पणी गर्न नचाहेको उनले स्पष्ट पारे।
यसक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै प्रश्न उठाउने सांसद र त्यसको उत्तर दिने मन्त्री दुवैको अधिकार संसदीय अभ्यासको सामान्य प्रक्रिया भएको बताए। मन्त्रीको भनाइले आफ्नो विधायकीय अधिकार प्रभावित भएको महसुस गरेको उनको भनाइ थियो।
फरक प्रसंगमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए। देशले विभिन्न उतारचढावको सामना गरेकाले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना बनाइरहेको जानकारी दिँदै उनले ११६६ हेल्पलाइनमार्फत आत्महत्या रोकथामका लागि पनि प्रयास भइरहेको बताए।
