विराटनगर । गृहमन्त्रालयद्वारा गठन गरिएको छानबिन समितिले सुनसरीको देवानगञ्जमा भएको घटनाको अनुसन्धान औपचारिक रूपमा सुरु गरेको छ।
बुधबार समितिको टोली घटनास्थल पुगेर घटनाबारे तथ्य संकलन तथा प्रमाण जुटाउने कार्यमा लागेको हो।
साउन १० गते राति देवानगञ्ज क्षेत्रमा भएको झडप र त्यसपछिको समग्र अवस्थाबारे वास्तविकता पत्ता लगाउन समिति कप्तानगञ्ज हुँदै घटनास्थल पुगेको हो। समितिले स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग सामूहिक छलफल र सोधपुछ गरिरहेको छ।
घटनाको सूक्ष्म अनुसन्धानका क्रममा टोलीले घटनास्थलबाट गोलीका खोका, प्रयोग भएका हातहतियार तथा अन्य भौतिक प्रमाणहरूको खोजी र संकलनसमेत गरिरहेको जनाएको छ।
गृहमन्त्रालयले गठन गरेको उक्त समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। समितिको प्रतिवेदनका आधारमा घटनाबारे आवश्यक थप निर्णय र कारबाही प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।
