Premier Cables

कोशी प्रदेश राष्ट्रिय

सरकारको मिडिया नीतिविरुद्ध पत्रकार महासंघको माइतीघरमा प्रदर्शन

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ०९, २०८३  | राती ९:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि सरकारको नीति प्रतिकूल रहेको भन्दै नेपाल पत्रकार महासंघले शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो।

विज्ञापन

पत्रकारहरुले सरकारले सञ्चार क्षेत्रप्रति दबाब बढाउने र प्रेस स्वतन्त्रतालाई सीमित गर्ने खालका नीति तथा गतिविधि अघि बढाएको आरोप लगाए। आमनिर्वाचनपछि सञ्चार क्षेत्रमैत्री नीति आउने अपेक्षा गरिए पनि व्यवहारमा सञ्चारगृह लक्षित गतिविधि बढेको र पत्रकारिता क्षेत्र स्वनियन्त्रणको जोखिमपूर्ण अवस्थातर्फ धकेलिएको महासंघको भनाइ छ।

महासंघले समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण र लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्थामा समयानुकूल सुधारको माग गरेको छ। त्यस्तै श्रमजीवी पत्रकारसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चार क्षेत्रसँग सम्बन्धित आवश्यक संरचना गठन तथा पत्रकारको बिमा र सामाजिक सुरक्षाको सुनिश्चिततालाई पनि आन्दोलनका प्रमुख मुद्दा बनाइएको छ।

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध हटाउन सर्वोच्च अदालतले दिएको आदेशको महासंघले स्वागत गरेको छ। यद्यपि अदालतको आदेश व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै महासंघले आदेश कार्यान्वयन नभए सञ्चार क्षेत्र थप संकटमा पर्ने चेतावनी दिएको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित प्रतिकूल नीति तत्काल फिर्ता लिनुपर्ने महासंघको माग छ। संविधानप्रदत्त प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय मान्यता र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सरकारलाई आग्रह गर्दै महासंघले आन्दोलनलाई थप सशक्त बनाउन सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा सरोकारवालालाई सहभागी हुन आह्वानसमेत गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka