काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयबजार सामान्य अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ प्रतिशत अर्थात १.१३ अंकले घटेर २ हजार ६००.७८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५३.६० विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३६७ वटा स्क्रिप्टको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ८६ करोड ७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६१ करोड १९ लाख बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘सेयर लगानीकर्ताहरु अहिलेको सरकारको गतिविधिप्रति असन्तुष्ट छन्, सरकारले गर्ने कार्यशैली र बोल्ने कुरामा लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन् । त्यसमाथि अहिले असार मसान्तको दबाबले पनि बजारलाई थप प्रेसर परेको छ । जबसम्म लगानीकर्ताको मनोबल उच्च हुँदैन तबसम्म मार्केट सस्टेन हुने सम्भावना रहँदैन ।’
उनले थपे, ‘यदि सरकारले आम लगानीकर्तालाई विश्वास दिलाउन, व्यवसायीहरुमाथि गर्ने धरपकड रोक्न सक्यो भने लगानीकर्ताको मनोबल बढ्न सक्छ नत्र पर्ख र हेरकै अवस्थामा सीमित हुने देखिन्छ ।
साथै अहिलेको अवस्थामा लगानीकर्ताहरुमा थोरै आशा मात्रै बाँकी देखिन्छ । मौद्रिक नीतिपछि राष्ट्र बैंकको सर्कुलर आउँन बाँकी छ, सेबोनले पनि पूँजीबजार सुधारका लागि मार्गदर्शन सार्वजनिक गर्ने भनेको छ, हेरौं केही सकारात्मक आए बजारमा केही सुधार देखिएला ।’



