काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक बैठक गर्ने भएका छन्। संघीयता कार्यान्वयन, प्रदेशका समस्या समाधान तथा केन्द्र–प्रदेश समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त छलफल आयोजना गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहनेछ। प्रधानमन्त्री शाहले प्रदेशस्तरमा देखिएका समस्या, विकास निर्माणमा अवरोध र तत्काल प्राथमिकतामा राख्नुपर्ने कार्यहरूको विषयमा जानकारी लिने तयारी गरेका छन्।
प्रधानमन्त्री पद सम्हालेपछि शाहले केन्द्र र प्रदेशबीचको सहकार्य मजबुत बनाउन सक्रियता देखाउँदै आएका छन्। यसअघि उनले सातै प्रदेशका प्रत्यक्ष तथा समानुपातिक सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन्।
अबको बैठकमा मुख्यमन्त्रीहरूसँग ठोस योजना र कार्यान्वयनमा केन्द्रित संवाद हुने अपेक्षा गरिएको छ। विशेषगरी प्रदेशलाई अधिकार सम्पन्न बनाउने, बजेट कार्यान्वयनको अवस्था सुधार गर्ने र संघीय सरकारसँगको समन्वय सुदृढ बनाउने विषयमा छलफल केन्द्रित रहनेछ।
प्रधानमन्त्री कार्यालयले यस छलफललाई प्रदेश सरकारको काममा गति ल्याउने र संघीय सहयोगलाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।
