विराटनगर । झट्ट हेर्दा निलो रंगको ज्याकेटमा एकातर्फ विराटनगर महानगरपालिकाको लोगो, अर्कोतर्फ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको लोगो र पछाडिको भागमा जर्सीमा जस्तै नम्बर अंकित देखिन्छ। तर यो सामान्य ज्याकेट मात्र होइन, यात्रुको सुरक्षासँग जोडिएको पहिचानको माध्यम हो।
यदि तपाईं विराटनगरभित्र सफारीमा यात्रा गर्दै हुनुहुन्छ भने अबदेखि नम्बर अंकित ज्याकेट लगाएका चालकको सफारीमा मात्र यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आग्रह गरेको छ।
विराटनगर महानगरपालिकाको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘सुरक्षित चालक अभियान’ सुरु गरेसँगै लाइसेन्स प्राप्त तथा ट्राफिक प्रहरीबाट आवश्यक परामर्श लिएका चालकलाई नम्बर अंकित ज्याकेट वितरण गरिएको हो। ट्राफिक प्रहरीका अनुसार यस्तो ज्याकेट लगाएका चालकसँग यात्रा गर्दा यात्रु थप सुरक्षित रहनेछन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार यात्राको क्रममा सामान छुटेमा वा कुनै उजुरी तथा निवेदन दिनुपरेमा ज्याकेटको पछाडि अंकित नम्बरका आधारमा चालकको पहिचान गर्न सहज हुने छ। साथै कुनै अप्रिय घटना भएमा सम्बन्धित चालकलाई खोजी तथा नियन्त्रणमा लिन पनि सहज हुने उनले बताए।
सडकमा सञ्चालन भइरहेका सफारी चालकको स्पष्ट पहिचान नहुँदा तथा नेपाली र भारतीय चालक छुट्याउन कठिनाइ भएकाले यो अभियान सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ। अभियानअन्तर्गत पहिलो चरणमा लाइसेन्स प्राप्त चालकलाई ट्राफिक सचेतना तथा परामर्शसहित ज्याकेट प्रदान गरिएको छ।
लाइसेन्सबिनाका चालकलाई भने सफारीसहित नियन्त्रणमा लिएर केही समय होल्ड गरी सवारी चालक अनुमतिपत्रको आवश्यकता सम्बन्धी परामर्श दिने तथा लाइसेन्सको फाराम भर्न प्रोत्साहित गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिलो चरणमा निर्माण गरिएका २ हजार ६ सय ज्याकेटमध्ये हालसम्म करिब २ हजार १ सय चालकले सुरक्षित चालक अभियानअन्तर्गतको ज्याकेट प्राप्त गरिसकेका छन्।
ट्राफिक प्रहरीले यात्रुहरूलाई सडकमा गुडिरहेका सफारीमा चढ्नुअघि चालकले नम्बर अंकित ज्याकेट लगाएको छ कि छैन भन्ने कुरा सुनिश्चित गर्न तथा ज्याकेटको पछाडिको नम्बर सम्झेर राख्न आग्रह गरेको छ। यसले यात्रुको सुरक्षा मात्र होइन, यात्राका क्रममा हुने सम्भावित समस्या समाधान गर्न पनि महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।


