नोट: यो समाचार १ महिना अघिको हो
बुटवल । युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई मंगलबार राति आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो चैत महिनामा उनकै घर नजिकै रहेको बासघारीमा खिचिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
भिडियोमा तुलसीपुरकी २१ वर्षीया युवतीमाथि रमेशले गालीगलौज गर्दै चक्कु देखाएर कुटपिट गरेको देखिन्छ । भिडियोमा युवती रोइरहेको र ‘अब गर्दिनँ’ भन्दै अनुरोध गरिरहेको दृश्य समेत देखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
