काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। यस जितसँगै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने जनकपुरको प्लेअफ सम्भावना थप कठिन बनेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो।
यस जितसँगै सुदूरपश्चिमले ६ खेलबाट ८ अंक जोडेको छ। टोलीले अहिलेसम्म चार खेलमा जित र दुई खेलमा हार बेहोरेको छ।
समान ८ अंक रहेको काठमाण्डू भने राम्रो रनरेटका आधारमा सुदूरपश्चिमभन्दा माथि रहेको छ। सुदूरपश्चिमको जितले उसको प्लेअफ यात्रा थप बलियो बनेको छ।
यता जनकपुरले पनि ६ खेलबाट ४ अंक जोडेको छ। अंकतालिकामा पाँचौँ स्थानमा रहेको जनकपुरका लागि बाँकी खेलमा जित निकाल्नु प्लेअफ सम्भावना कायम राख्न महत्वपूर्ण हुनेछ।
सुदूरपश्चिमसँगको हारले जनकपुरमाथि प्लेअफमा स्थान सुरक्षित गर्ने दबाब थपिएको छ।
