विराटनगर। सशस्त्र प्रहरी बल नेपालले विराटनगरका दुई फरक-फरक स्थानमा रहेका भाडाका कोठामा छापा मारी लाखौँ मूल्य बराबरको भन्सार छलीका कपडा तथा अन्य सामग्री बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले नेपाल प्रहरी, भन्सार कार्यालयका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहवरमा खानतलासी गर्दा उक्त अवैध सामान बरामद भएको हो।
विराटनगर महानगरपालिका वडा नं. ८ मधुमारास्थित पर्शुराम पौडेलको घरमा नवराज शाहले भाडामा लिएको कोठामा अवैध सामान लुकाई-छिपाई राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीबाट प्रहरी टोली परिचालन गरिएको थियो।
उक्त टोलीले खानतलासी गर्दा ११ बोरा कपडा र १ थान स्टेब्लाइजर बरामद गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाउँदा त्यसको कुल मूल्याङ्कन रु ७,६१,८००/- (सात लाख एकसठ्ठी हजार आठ सय) कायम गरिएको छ।

यसैगरी, विराटनगर महानगरपालिका वडा नं. ५ हरिहरपथस्थित हरिबहादुर कार्कीको घरमा मनोज चौधरी भन्ने व्यक्तिले भाडामा लिएको कोठाबाट पनि ठूलो परिमाणमा अवैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले संयुक्त रोहवरमा खानतलासी गर्दा १० बोरा (३ वटा ठूलो र ७ वटा सानो) कपडा बरामद गरेको हो।
बरामद कपडा गणमा ल्याइएको र आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
