






विराटनगर । स्वास्थ्य उपचारका लागि विभिन्न ठाउँबाट विराटनगर आएकाहरु यातायातका साधन नचल्दा बसपार्क क्षेत्रमै अलपत्र बनेका छन् ।
खासगरी मधेश प्रदेशबाट विराटनगरका विभिन्न अस्पतालमा आएकाहरु समस्यामा परेका हुन । जनकपुरबाट उपचारमा न्युरो अस्पतालमा उपचार गराउन आएका मुसाफिर नदीम दुई बालबालिका सहित विराटनगर बसपार्क क्षेत्रमा छन् । गाडी नचल्नेबारे जानकारी नहुँदा समस्या भएको उनले बताए ।
होटलमा बस्ने पैसा नभएको र सडक किनारमै उभिएर बिहानैदेखि बसको प्रतीक्षामा रहेको उनले सुनाए । साँझसम्म पनि गाडी नखुले अस्पताल परिसरमै रात बिताउने उनको भनाइ छ । बन्दको जानकारी नभएका कारण विराटनगरका अस्पतालमा उपचार गर्न आएकाहरु धेरै यात्रु अलपत्र परेका हुन । उनीहरुले गाडी नचल्दा निकै सास्ती खेप्नु परेको बताएका छन् ।
सिरहाको कल्याणपुरका सफिर मियाँ घर फर्किन बिहान ४ बजे नै विराटनगर बसपार्क पुगेका थिए । उनी आफै बिरामी परेकोले अझै बिसेक भएको छैन । शरीरमा ज्वरो आएको छ । आवाज भास्सिएको छ । सोमबार बसपार्क अगाडिको फलैंचामा उनी गाडी खुल्ने प्रतीक्षामा बसिरहेका थिए ।
बसपार्क क्षेत्रभित्रै उपचारका लागि विराटनगर आएका शिवनारायण राम पनि अलपत्र परे । लहानबाट आएका उनी घर फिर्न पाइन्छ की भनेर श्रीमतीसँगै बसिरहेका थिए ।
बन्दको जानकारी नपाएका सिरहाका देव साह भारत ससुरालीबाट फर्किएर विराटनगर आएका उनी चार जना छोराछोरीसहित बसपार्कको भवनका सुतिरहेका छन् ।
विराटनगरका भित्री सडक र होटल क्षेत्रमा पनि धेरै यात्रुहरु अलपत्र छन् । छोटा दुरीका यात्रु भने अटो सफारी लिएर निस्किसकेका छन् । तर, लामो दुरीमा जानुपर्नेलाई भने कठिन भएको छ । अस्पतालले डिस्चार्ज गरेका र बेखर्ची भएकाहरुलाई पनि निकै समस्या भएको यात्रुहरुले बताएका छन । अटो संचालन भएपनि बढी भाडा मागेको यात्रुको गुनासो छ ।