Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा किन झ्याप झ्याप गईरहन्छ बिजुली ?

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | बिहान १०:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । तीव्र रूपमा बढिरहेको विद्युत् खपत र बारम्बार हुने सर्किट ओभरलोडको समस्यालाई व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले थप एक सब–स्टेशन निर्माणको प्रस्ताव अघि सारेको छ।

हाल विराटनगर क्षेत्रको विद्युत् आपूर्ति टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरीस्थित चार वटा सब–स्टेशनमार्फत व्यवस्थापन हुँदै आएको छ। तीमध्ये टंकी र रानी सब–स्टेशनले मुख्य रूपमा विराटनगर महानगर क्षेत्रको विद्युत् वितरणको जिम्मेवारी सम्हाल्दै आएका छन्। टंकी सब–स्टेशनबाट महानगरको उत्तरी तथा रानी सब–स्टेशनबाट दक्षिणी क्षेत्रको आपूर्ति व्यवस्थापन गरिँदै आएको छ।

बिज्ञापन

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रामउद्गार साहका अनुसार टंकी सब–स्टेशनको क्षमता १६/२४ एमभीएबाट बढाएर २४/२४ एमभीए पुर्‍याइएको छ। रानी, बाँसबारी र कटहरीका सब–स्टेशनमा पनि २४/२४ एमभीएका पावर ट्रान्सफर्मर जडान गरिएका छन्। तर बढ्दो मागका कारण टंकी र रानी सब–स्टेशनबाट मात्रै लोड व्यवस्थापन गर्न कठिन बन्दै गएको उनले बताए।

उनका अनुसार टंकी र रानीको बीच क्षेत्रमा नयाँ सब–स्टेशन स्थापना गर्न सके विद्युत् भारलाई प्रभावकारी रूपमा बाँडफाँट गर्न सकिनेछ। यसले भविष्यमा हुन सक्ने ओभरलोड तथा आपूर्ति समस्यालाई समेत न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

विराटनगरमा पछिल्ला वर्षहरूमा बहुमंजिला भवन, पाँचतारे होटल, विद्युतीय सवारीसाधन, चार्जिङ स्टेशन तथा अन्य आधुनिक उपकरणको प्रयोग बढेसँगै विद्युत् खपत उल्लेख्य रूपमा वृद्धि भएको छ। यसले वितरण प्रणालीमा अतिरिक्त दबाब सिर्जना गरेको छ।

वितरण केन्द्रका अनुसार पछिल्ला तीन वर्षमा मात्रै महानगर क्षेत्रमा करिब पाँच हजार नयाँ उपभोक्ता थपिएका छन्। आर्थिक वर्ष २०८०/८१ को असारसम्म ८५ हजार २५६ ग्राहक रहेकोमा २०८१/८२ को असारसम्म ८८ हजार ९५ पुगेको थियो। चालु आर्थिक वर्षको जेठसम्म आइपुग्दा ग्राहक संख्या ९० हजार ३०० नाघिसकेको छ।

गर्मीको मौसमसँगै विराटनगरमा विद्युत्को ‘पिक डिमाण्ड’ दैनिक ९० मेगावाटसम्म पुगेको छ। केही वर्षअघिसम्म औसत ६० मेगावाटको माग रहने क्षेत्रमा अहिले खपत उल्लेख्य रूपमा बढेको छ। यसका कारण ट्रान्सफर्मरमा बारम्बार असन्तुलनको समस्या देखिन थालेको प्राधिकरणले जनाएको छ।

चिसो मौसममा समेत विद्युत् माग बढ्दो क्रममा रहेकाले दीर्घकालीन समाधानका लागि नयाँ सब–स्टेशन निर्माण अपरिहार्य बन्दै गएको विद्युत् प्राधिकरणको निष्कर्ष छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka