काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको स्कर्पियो गाडी चोरी भएको छ।
प्रहरीका अनुसार ठेचो क्षेत्रबाट मध्यरातिमा उक्त स्कर्पियो हराएको भन्दै उजुरी परेको छ। गाडी हराएपछि जिल्ला प्रहरी परिसर ललितपुरले खोजी कार्य तीव्र पारेको जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रले स्कर्पियोको खोजीका लागि विभिन्न प्राविधिक माध्यम प्रयोग गरिएको जानकारी दिए।
‘हामीले सीसीटीभी फुटेजलगायतका प्राविधिक पक्षको विश्लेषण गरेर अनुसन्धान गरिरहेका छौं। हालसम्म गाडी फेला परेको छैन,’ उनले भने।
प्रहरीका अनुसार घटनास्थल आसपासको सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेर गएको देखिएको छ। फुटेजका आधारमा थप अनुसन्धान भइरहेको छ।
घटनापछि प्रहरीले गाडीका चालकसँग पनि सोधपुछ गरेको छ। चालकले राति आफू सुतेको अवस्थामा गाडी चोरी भएकाले घटनाबारे कुनै जानकारी नभएको बताएका छन्।
प्रहरीले स्कर्पियो चोरीमा संलग्न व्यक्तिको पहिचान तथा गाडीको खोजीका लागि अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
