विराटनगर । मोरङको विराटनगर महानगरपालिकाबाट बाख्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय प्रकाश राजवंशी र सोही स्थानका २४ वर्षीय श्याम राजवंशी रहेका छन्।
कार्तिक ११ र १४ गते रातिको समयमा विराटनगरका विभिन्न घरहरूबाट बाख्रा चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा श्याम राजवंशीको घरमा लुकाई छिपाई राखेको अवस्थामा चोरी भएका बाख्राहरू फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त घरबाट २ वटा खसी, १ वटा माउ बाख्रा र १ वटा बाख्राको पाठो गरी जम्मा ४ वटा बाख्राहरू बरामद गरेको छ। बाख्रा सहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी मुद्दा कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
