विराटनगर । मोरङका उत्तरी तथा दक्षिणपूर्वी क्षेत्रमा विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउने उद्देश्यले निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ ।
कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको सबस्टेसनलाई नेपाल विद्युत प्राधिकरणले आइतबार (कात्तिक १५ गते) चार्ज गरी सञ्चालनमा ल्याएको हो । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने उक्त सबस्टेसनलाई लुप इन तथा लुप आउट प्रणालीमार्फत प्रसारण लाइनमा जोडिएको छ ।
सबस्टेसनमा १३२/३३ केभी क्षमताका ६३ एमभीएका दुईवटा र ३३/११ केभी क्षमताको २२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । यससँगै सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले केरौन सबस्टेसन सञ्चालनमा आएसँगै मोरङ र आसपासका क्षेत्रमा बढ्दो विद्युत माग व्यवस्थापन गर्न सहज हुने बताए । उनका अनुसार यसले वितरण प्रणालीको क्षमता बढाउनुका साथै उपभोक्तालाई गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन सहयोग पुर्याउनेछ ।
सबस्टेसनबाट रङ्गेली र विराटचोकतर्फ विद्युत आपूर्ति गर्न ३३ केभीका दुई–दुईवटा लाइन निर्माण गरिएको छ । ती लाइनलाई पनि तिहारअघि चार्ज गरी सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ । स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि ११ केभीका पाँचवटा फिडर लाइनसमेत निर्माण गरिएका छन् । ती फिडर पनि छिट्टै सञ्चालनमा ल्याइने जनाइएको छ ।
केरौन सबस्टेसन सञ्चालनमा आएपछि कानेपोखरी, रङ्गेली, विराटचोक, लेटाङलगायत आसपासका क्षेत्रमा विद्युत आपूर्ति थप नियमित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।
विशेषगरी लामो दूरीका ३३ केभी वितरण लाइनमार्फत विद्युत आपूर्ति हुँदै आएका क्षेत्रमा अब दूरी छोटिने भएकाले न्यून भोल्टेज, पटक–पटक विद्युत अवरुद्ध हुने समस्या तथा प्राविधिक चुहावट घट्ने अपेक्षा गरिएको छ । यसले विद्युत आपूर्तिको गुणस्तर र सुरक्षामा समेत सुधार ल्याउनेछ ।
केरौन सबस्टेसन निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । करिब एक अर्ब रुपैयाँ अनुमानित लागतमा निर्माण भएको आयोजना नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानी तथा एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा सम्पन्न गरिएको हो ।
