






विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
अभद्र व्यवहार मुद्दामा उनीमाथि अनुसन्धान जारी थियो । झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मंगलबार मृत्यु भएको हो । उनको अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । कोसी अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते अदालतबाट म्याद थप भई उनी प्रहरी हिरासतमा थिए । एकाएक ज्वरो आई पेट दुख्ने थालेपछिउनलाई अस्पताल भर्ना गरिएको थियो । पछि श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।
हिरासतमै रहेका बेला बारम्बार बिरामी पर्ने गरेपछि यसअघि पनि प्रहरीले उनलाई उपचारका लागि अस्पताल भर्ना गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लागूऔषध सेवनकर्ता समेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन् । आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको र विभिन्न प्रहरी कार्यालयबाट चार पटक मुद्दा चलिसकेको प्रहरी अभिलेखमा छ ।
तीन पटक लागूऔषध ऐन र एक पटक अभद्र व्यवहार अन्तर्गतको मुद्दा चलेको थियो । ‘यसअघि चार पटक मुद्दा चलिसकेको बताइएको छ ।
पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेको अवस्थामा पक्राउ परेका थिए ।