‘अगर किसी चीज़ को दिल से चाहो, तो पूरी कायनात उसे तुमसे मिलाने की कोशिश में लग जाती है।’
![]()
![]()
बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ओम शान्ति ओमको यो चर्चित संवाद केवल चलचित्रको पर्दामा सीमित छैन। यसले दृढ इच्छाशक्ति, निरन्तर प्रयास र अटुट विश्वासको एउटा गहिरो दर्शन बोकेको छ। अर्थात्, कुनै कुरा साँचो मनले चाहियो भने त्यसलाई प्राप्त गर्न सम्पूर्ण ब्रह्माण्ड नै सहयोगमा जुट्छ।
प्रतीक्षा, लगनशीलता र कर्मको त्रिवेणीले मानिसलाई उसको गन्तव्यसम्म पुर्याउन सक्छ भन्ने विश्वास बोकेका सुनवर्षी नगरपालिका–२, अमरदहका वीरेन्द्र कुमार साहको जीवनमा पनि यो संवाद क्रमशः चरितार्थ हुँदै गएको देखिन्छ।
संघीयता कार्यान्वयनसँगै साविकको अमरदह गाविस सुनवर्षी नगरपालिकामा रूपान्तरण भयो। त्यही समयदेखि उनको मनमा एउटा सपना पलायो– आफ्नो नगरपालिकाको नेतृत्व गर्ने, विकासको खाका कोर्ने र सुनवर्षीलाई समृद्ध नगरका रूपमा स्थापित गर्ने। त्यो सपना कुनै क्षणिक राजनीतिक महत्त्वाकांक्षा थिएन, बरु समयसँगै परिपक्व हुँदै गएको एउटा दीर्घकालीन अभिलाषा थियो। आज त्यही सपना र त्यसको सम्भावित गन्तव्यलाई लिएर उनको चर्चा चुलिँदै गएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध साहको पछिल्लो एक दशक एउटै आकांक्षाको वरिपरि घुमिरहेको छ– सुनवर्षीको मेयर बन्ने। समय बदलियो, राजनीतिक परिवेश फेरियो, नेतृत्व परिवर्तन भयो, तर उनको सपनाको केन्द्र भने फेरिएन। यही निरन्तरताले अहिले उनलाई सम्भावित नगरप्रमुखका रूपमा हेर्नेहरूको चासो र अपेक्षा बढाउँदै लगेको छ।
सामान्य परिवारमा जन्मिएका साहको बाल्यकाल सहजताभन्दा संघर्षसँग बढी परिचित रह्यो। आलु–प्याजको व्यापार गर्ने परिवारमा हुर्किएका उनले जीवनका प्रारम्भिक पाठ अभाव, परिश्रम र जिम्मेवारीबाट सिके। अमरदह बजारस्थित श्री वीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका उनले सानै उमेरदेखि आफ्नो रुचि र सक्रियताको क्षेत्र फराकिलो बनाउँदै लगे।
बाल क्लब हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेका साहले सामाजिक तथा राजनीतिक गतिविधिमार्फत आफ्नो परिचय निर्माण गरे। उमेरले सानो भए पनि सोच र सक्रियताले आफूलाई अलग देखाउने प्रयास गरे। समयक्रममा पत्रकारितालाई पनि आफ्नो कर्मक्षेत्र बनाए। सञ्चार, सूचना प्रवाह र सामाजिक सेवाको यात्राले उनलाई समाजका समस्या नजिकबाट बुझ्ने अवसर दियो।
पत्रकारितालाई उनले केवल समाचार सम्प्रेषणको माध्यमका रूपमा मात्र लिएनन्, बरु आवाजविहीनहरूको आवाज बन्ने र समाजका समस्यालाई सार्वजनिक बहसमा ल्याउने माध्यमका रूपमा प्रयोग गरे। सूचना प्रवाहदेखि सामाजिक सेवासम्मका गतिविधिमा उनको सक्रियता देखिँदै आएको छ। उपचारको आवश्यकता परेका नागरिकलाई सहयोग जुटाउनेदेखि विपद् र कठिन परिस्थितिमा राहत तथा सहयोगका लागि अग्रपङ्क्तिमा उभिने उनको भूमिकाले सामाजिक वृत्तमा छुट्टै पहिचान बनाएको छ।
सायद यही कारण उनको राजनीतिक परिचयभन्दा बाहिर पनि एउटा सामाजिक परिचय स्थापित भएको छ।
सपना देख्ने मात्रै होइन, समयसँगै त्यसका लागि आफूलाई तयार पार्ने प्रयास
कुनै पदको आकांक्षा राख्नु र त्यसका लागि आफूलाई तयार पार्नु फरक कुरा हुन्। साहको राजनीतिक यात्रालाई नजिकबाट नियाल्नेहरूका लागि पछिल्लो एक दशक केवल प्रतीक्षाको समय मात्र होइन, आफ्नो सामाजिक पहुँच, सम्बन्ध र राजनीतिक आधार निर्माण गर्ने अवधिका रूपमा पनि हेरिन्छ।
सुनवर्षी नगरपालिकाको भूगोल, यहाँका नागरिकका आवश्यकता, विकासका सम्भावना र विद्यमान चुनौतीबारे उनको चासो निरन्तर रहँदै आएको छ। उनको भनाइमा, सुगम भूगोल र सम्भावनाका हिसाबले पछाडि पर्नुपर्ने कुनै कारण नभए पनि सुनवर्षीले अपेक्षित गति लिन सकेको छैन।
‘सुगम भएर पनि दुर्गमजस्तै देखिने हाम्रो नगरपालिका किन अपेक्षित रूपमा अगाडि बढ्न सकेन ? उपलब्ध स्रोत र सम्भावनाको सही उपयोग गर्न सके सुनवर्षीलाई धेरै राम्रो बनाउन सकिन्छ,’ भन्ने चिन्ता उनले बारम्बार व्यक्त गर्दै आएका छन्।
उनको सपना केवल नगरपालिकाको नेतृत्वमा पुग्नुमा सीमित छैन। सुनवर्षीलाई देशकै नमुना नगरपालिकाका रूपमा स्थापित गर्ने अभिलाषा पनि त्यससँग जोडिएको छ। नेतृत्वलाई पद र प्रतिष्ठाभन्दा बढी जिम्मेवारी र परिणामसँग जोडेर हेर्ने उनको दाबी छ।
२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका कालीप्रसाद दास नगरप्रमुखमा निर्वाचित भएका थिए भने २०७९ सालमा नेकपा एमालेका श्याम राजवंशीले नेतृत्व सम्हाले। दुई फरक राजनीतिक दलले नगरपालिकाको नेतृत्व गरिसकेको सुनवर्षीमा अब आगामी निर्वाचनले कसलाई नगरप्रमुखको कुर्सीसम्म पुर्याउँछ भन्ने बहस विस्तारै सतहमा आउन थालेको छ।
यही राजनीतिक परिवेशमा साहको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा प्राप्त गरेको मत र जनसमर्थनले उनी थप उत्साहित देखिन्छन्। सामाजिक सञ्जालमा उनको सक्रियता र त्यहाँ देखिने समर्थनले पनि उनको राजनीतिक आकांक्षालाई सार्वजनिक बहसमा ल्याएको छ।
यद्यपि, सामाजिक सञ्जालमा देखिने लोकप्रियता र निर्वाचनको मतपेटिकामा अभिव्यक्त हुने जनमत एउटै कुरा होइनन्। राजनीतिक समर्थनलाई वास्तविक जनविश्वासमा रूपान्तरण गर्नु नै उनका लागि सबैभन्दा महत्त्वपूर्ण चुनौती हुनेछ।
दशक लामो सपना, वर्षौँको सामाजिक सक्रियता र राजनीतिक यात्राले उनलाई एउटा सम्भावित गन्तव्यको नजिक पुर्याएको अनुभूति हुन सक्छ। तर सपना देख्नु एउटा कुरा हो, त्यसलाई जनताको विश्वासमा रूपान्तरण गर्नु अर्को।
अबको स्थानीय निर्वाचन उनका लागि केवल उम्मेदवारीको अवसर मात्र हुनेछैन, विगतमा गरेका काम, निर्माण गरेको सम्बन्ध, प्रस्तुत गरेका विचार र भविष्यका योजनाको मूल्याङ्कन हुने परीक्षा पनि हुनेछ।
सुनवर्षीवासीले उनलाई कति विश्वास गर्छन् ? उनको सामाजिक सक्रियता मतमा रूपान्तरण हुन्छ कि हुँदैन ? पार्टीले उनलाई नेतृत्वको अवसर दिन्छ कि दिँदैन ? र सबैभन्दा महत्त्वपूर्ण, उनले देखेको एक दशक पुरानो सपना साकार हुन्छ कि हुँदैन ? यी प्रश्नको उत्तर समय र निर्वाचनले दिनेछन्।
शाहरुख खानको चर्चित संवादले भनेझैँ, चाहना साँचो हुनुपर्छ र त्यसका लागि कर्म पनि निरन्तर हुनुपर्छ। तर राजनीतिमा एउटा फरक पक्ष छ– यहाँ गन्तव्यसम्म पुग्न आफ्नै इच्छाशक्ति मात्र पर्याप्त हुँदैन, जनताको विश्वास र अनुमोदन पनि उत्तिकै आवश्यक हुन्छ।
वीरेन्द्र कुमार साहका लागि अब सपना र यथार्थबीचको दूरी मापन गर्ने समय नजिकिँदै छ। एक दशकदेखि मनमा सजाएको मेयर बन्ने अभिलाषा पूरा होला वा फेरि अर्को प्रतीक्षाको अध्याय थपिएला ? यसको फैसला उनको चाहनाले मात्र होइन, सुनवर्षीका मतदाताको विवेकले गर्नेछ।
किनकि राजनीतिमा सपना देख्ने अधिकार सबैलाई हुन्छ, तर त्यो सपना साकार पार्ने अन्तिम अधिकार जनतासँग मात्र हुन्छ।
*** समाप्त ***
