नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आगामी निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारीमा छन्। उनको सचिवालयका अनुसार बालेन यससम्बन्धी गृहकार्यमा सक्रिय रूपमा जुटेका छन्।
झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, जहाँबाट ओली लगातार निर्वाचित हुँदै आएका छन्। बालेन सोही क्षेत्रमा प्रतिष्पर्धा गर्ने तयारीसहित झापाका स्थानीय नेता–कार्यकर्तासँग निरन्तर छलफलमा रहेको सचिवालयले जनाएको छ।
आइतबार बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति प्रकाश पाठकसहितका नेताहरूसँग छलफल गरेका थिए। ललितपुरको ज्वागलस्थित उनका सल्लाहकार कुमार ब्यञ्जनकारको निवासमा भएको भेटमा सभापति पाठक, सचिव शम्भु सुस्केरासहितको टोली सहभागी रहेको बालेनका एक सल्लाहकारले जानकारी दिए।
“मेयरज्यू झापा–५ बाट केपी ओलीसँग चुनाव लड्ने तयारीमा हुनुहुन्छ। हाम्रो टोलीले त्यहाँ मत सर्वेक्षणसमेत गरिरहेको छ, त्यसैले स्थानीय नेताहरूसँग भेटघाट गरेर अवस्था बुझ्दै आउनुभएको हो,” ती सल्लाहकारले बताए।
बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार उनले ५ गतेभित्र मेयर पदबाट राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि झापा जाने तयारी गरेका छन्।
शाहले सोमबार भने, “५ गते राजीनामा दिनुहुन्छ, त्यसपछि सिधै झापा जानुहुन्छ।”
उनका अनुसार बालेन झापा–५ बाटै निर्वाचन लड्ने तयारीमा छन्।
