Premier Cables
Premier Steel

अर्थ

निजी क्षेत्रलाई एकताबद्ध भएर अघि बढ्न अध्यक्ष राउतको आह्वान

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | अपराह्न ३:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउत ले देश आर्थिक चुनौतीबाट गुज्रिरहेको अवस्थामा निजी क्षेत्र अझ जिम्मेवार, परिणाममुखी र एकताबद्ध हुनुपर्ने बताएका छन् ।

विराटनगरमा आयोजित महासंघको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्दै अध्यक्ष राउतले उद्योग–व्यवसायमा लगानीको वातावरण कमजोर बन्दै गएको, बजार संकुचित भएको तथा युवाशक्ति विदेश पलायन भइरहेको अवस्थाले निजी क्षेत्र दबाबमा परेको बताए ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि हिक्मतकुमार कार्की रहेका थिए । कार्यक्रममा बोल्दै राउतले कोशी प्रदेश उद्योग, कृषि, पर्यटन, जलस्रोत, स्वास्थ्य र शिक्षाका क्षेत्रमा अत्यन्त सम्भावना बोकेको प्रदेश भएकाले ती सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्नुपर्ने समय आएको बताए ।

उनले राजनीतिक स्थायित्व कायम भए आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्दै वर्तमान सरकार पाँच वर्ष स्थिर रूपमा अघि बढ्नेमा निजी क्षेत्र आशावादी रहेको बताए । साथै अमेरिका–इरान द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले उत्पादन, ढुवानी तथा दैनिक उपभोग्य वस्तुमा असर परेको र त्यसको प्रभाव सर्वसाधारणसम्म पुगेको उल्लेख गरे ।

अध्यक्ष राउतले महासंघले विगतमा लगानी सम्मेलन, पर्यटन वर्ष २०८२, कृषि एक्स्पो, ढाका महोत्सव तथा रोजगार मेलाजस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले महासंघले गरेका गतिविधिको मूल्यांकन गर्दै गत वर्ष केन्द्रीय महासंघबाट उत्कृष्ट प्रदेशको सम्मान प्राप्त गरेको जानकारी पनि गराए ।

उनले आगामी बजेट कृषिमैत्री, रोजगारीमुखी र उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणमार्फत आर्थिक वृद्धिको आधार बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

राउतले आयात नियन्त्रणका लागि स्वदेशमै उद्योग स्थापना गर्ने स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै उत्पादनशील क्षेत्रमा लगानी आकर्षित गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

उनले संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र आशावादी रहेको प्रतिक्रिया दिए । “लगानी एक्सप्रेस” नीति, एकदिने कम्पनी दर्ता, औद्योगिक नीति परिमार्जन, कर पुनरावलोकन, डेटा सेन्टर र डिजिटल पार्क स्थापना, रिमोट वर्कसम्बन्धी कानुनी व्यवस्था तथा विदेशी लगानीकर्तालाई लगानी भिसा उपलब्ध गराउने घोषणाले निजी क्षेत्र उत्साहित भएको उनले बताए ।

अध्यक्ष राउतले आफ्नो कार्यकालमा महासंघको स्थायी भौतिक संरचना निर्माण, सदस्यता विस्तार, उद्योग–व्यवसायको डिजिटल अभिलेखीकरण, पर्यटन प्रवर्द्धन, सीपमूलक तालिम, ढाका तथा अल्लोजस्ता स्वदेशी उत्पादनको प्रवर्द्धनलगायत कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको जानकारी दिए ।

उनले उद्योगी व्यवसायीको हकहितको रक्षा गर्दै व्यवसायमैत्री नीति र लगानीमैत्री वातावरण निर्माणका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka