काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ ।
बिहान ११ बजे सुरु हुने बैठकको पहिलो कार्यसूचीमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा अझै छलफल हुन सकेको छैन । बुधबार छलफलको कार्यसूची रहे पनि विपक्षी दलहरूको अवरोधका कारण बैठक प्रभावित भएको थियो ।
दोस्रो कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।
यद्यपि, प्रधानमन्त्री शाह संसद्मा उपस्थित हुने विषय अझै निश्चित नभएको संसद् सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्रीले आफ्नो तर्फबाट अन्य मन्त्रीलाई पनि जवाफ दिन पठाउन सक्ने व्यवस्था छ । यही व्यवस्था प्रयोग गर्दै उनी बुधबारको बैठकमा अनुपस्थित रहेका थिए ।
प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि बुधबार बैठक कार्यसूचीमै प्रवेश गर्न सकेको थिएन ।
तेस्रो कार्यसूचीमा नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।
चौथो कार्यसूचीमा सभामुखले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी, पाँचौँ कार्यसूचीअन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
छैटौँ कार्यसूचीमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
