काठमाडौं । करिब पाँच दशकपछि भारतका कुनै पनि राज्यमा वामपन्थी दलको सरकार नरहने अवस्था आएको छ। वामपन्थीहरूको अन्तिम बलियो आधार मानिएको केरल समेत यसपटक उनीहरूको हातबाट बाहिरिएको छ।
हालै सम्पन्न विधानसभा निर्वाचनबाट भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) गठबन्धन १० वर्षपछि पुनः सत्तामा फर्किएको छ। १४० सिट रहेको केरलमा कांग्रेसले एक्लैले ६३ सिट जितेको छ भने उसका सहयोगी इन्डियन युनियन मुस्लिम लीग ले २२ सिट हासिल गरेको छ। अन्य सहयोगी दलहरूले थप १७ सिट जितेका छन्।
अर्कोतर्फ वामपन्थी दलहरू भने ३५ सिटमा सीमित भएका छन्, जसले केरलमा उनीहरूको सत्ता गुम्ने निश्चित बनाएको छ। सन् २०१६ देखि २०२६ सम्म दुई कार्यकाल वामपन्थी सरकार रहेको केरल अब कांग्रेस नेतृत्वको गठबन्धनको नियन्त्रणमा गएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार केरल गुमेपछि अब भारतका कुनै पनि राज्यमा वामपन्थी दलको सरकार रहने छैन। समाचार एजेन्सीका अनुसार सन् १९७० को दशकपछि पहिलोपटक यस्तो अवस्था आएको हो।
यसअघि सन् १९७७ मा पश्चिम बंगाल मा सीपीआई–एम को सरकार बनेको थियो, जुन २०११ सम्म कायम रह्यो। त्यसपछि त्यहाँ तृणमूल कांग्रेस सत्तामा आयो। हालैको निर्वाचनमा तृणमूल कांग्रेस ८१ सिटमा सीमित हुँदा भारतीय जनता पार्टी ले २०६ सिट जितेको छ भने कम्युनिस्ट पार्टीले २ सिट मात्र हासिल गरेको छ।
त्यस्तै, सन् १९९८ देखि २०१८ सम्म त्रिपुरा मा पनि लेफ्ट फ्रन्टको सरकार रहेको थियो, जुन २०१८ मा भाजपाको नियन्त्रणमा गएको थियो।
